अस्पतालमा आफन्त नभएका बिरामीलाई महानगरले केयरटेकरको व्यवस्था गरेको छ : सुनिता डंगोल

  • शनिबार १३ भौ २०८३ ०२:०३ PM
काठमाडौँ । काठमाडौं महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले बाढीबाट घाइते भई उपचाररत विरामीहरुको लागि महानगरले केयरटेकरको व्यवस्था गरेको जानकारी गराएकी छन् । ‘उद्धार भनेको कसैलाई एउटा ठाउँबाट अर्को ठाउँमा ल्याएर छोडिदिनु मात्र होइन । यसैले अहिले परिवारका कोही साथमा नभएका बिरामीहरूका लागि काठमाडौं महानगरपालिकाले केयरटेकरको व्यवस्था गरिरहेको छ,’ कार्यबाहक प्रमुख डंगोलले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘उद्धार भनेको ‘तपाईं एक्लो हुनुहुन्न, तपाईंको ख्याल गर्ने कोही छ’ भन्ने अनुभूति दिलाउनु पनि हो । अझ एउटा कुरा आज झन् गहिरो गरी महसुस भयो हामीले उद्धारसँगै पुनर्स्थापनाको पनि सोच्नुपर्छ ।’ अस्पतालमा ‘दुख्यो कि’ भनेर सोध्ने, खाना खुवाउने, औषधि समयमै खुवाउने, लगायतका कार्यले बिरामीलाई ठूलो हिम्मत दिने डंगोलले बताइन् । डाक्टरहरूसँगको परामर्श र बिरामीहरूको अवस्था बुझ्दा केही बिरामीलाई निरन्तर साथ दिने र दैनिक हेरचाह गर्ने व्यक्ति आवश्यक भएकोे महसुस गरेर केयरटेकरको व्यवस्था गरिएको उनले बताइन् ।