चितवन । कुनै बेला मेला, महोत्सव तथा राजनीतिक दलका अधिवेशन र चुनावी मतगणनास्थलका रूपमा चहलपहल हुने भरतपुर महानगरपालिका-१० स्थित चितवन उद्योग सङ्घको परिसर अहिले भीडले भरिएको छ । यो भीड पहिलाकोभन्दा फरक र कारुणिक छ । मनभरि पीडा, थकानले गलेका खुट्टा र काँपेको शरीर बोकेर चर्को घाममा भोक र तिर्खाको पनि वास्ता नगरी टोलाइरहेका मानिसहरूको एउटै पुकार छ ‘हाम्रा मान्छेको सास भेटिए हुन्थ्यो, कि त लासै पत्ता लागे पनि हुन्थ्यो’ । झट्ट हेर्दा र सुन्दा कुनै खराब सपनाजस्तो लाग्ने यो दृश्य वास्तविकता हो । भरतपुर अस्पताल नजिकै चितवन उद्योग सङ्घको नजिकै रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई अहिले शव संरक्षणस्थलका रूपमा प्रयोग गरिएको छ । रसुवा तथा भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नागरिकहरूको खोजी र पहिचानका लागि चितवन आइपुगेका आफन्तजनका लागि यो दर्दनाक र पीडादायी क्षण हो । नारायणी र त्रिशूली नदी किनारबाट सङ्कलन गरिएका २३३ शवमध्ये हालसम्म चार वटाको मात्रै पहिचान भएको छ । बाँकी २२९ शवलाई होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट सङ्कलन गरिएका शव तथा शवका अवशेषहरू सड्न थालेका छन् । जसका कारण कतिपय शव अब अनुहार र शारीरिक बनावटका आधारमा पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन् । उद्योग सङ्घको परिसरमा वीरगन्ज महानगरपालिका-२२ का अली मोहम्मद मिया आफ्ना २२ वर्षीय छोरा साबुदिन मन्सुरीको तस्बिर लिएर भरतपुरस्थित अस्पताल र शवगृहका ढोकाहरूमा भौँतारिइरहेका छन् । रोजगारीको सिलसिलामा रसुवाको एक ग्यारेजमा मेकानिकको काम गर्न गएका साबुदिन भोटेकोशी र आसपासका क्षेत्रमा आएको बाढीपछि ग्यारेज साहु र अन्य पाँच जना साथीहरूसँगै सम्पर्कविहीन भएका उनले बताए । “बिहानैदेखि छोराको खोजीमा छु, कसैले खबर पाए प्रहरीचौकीमा भनिदिए हुन्थ्यो”, भक्कानिँदै अली मोहम्मदले भने, “बाढीमा परेकाहरूको केही अत्तोपत्तो छैन ।” उनले शवगृह र होल्डिङ सेन्टरका सबैतिर हेर्दा पनि छोराको कुनै जानकारी नपाएको बताए । ‘केही जानकारी आए खबर गरिदिनु ल