भोटेकोशी बाढी : शव पहिचानमा समस्या

  • शनिबार १३ भौ २०८३ ०२:४१ PM
गण्डकी । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ शवमध्ये अहिलेसम्म छ शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।   कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा रहेको उनको भनाइ छ । “पहिचान भएका शव आवश्यक कानुनी प्रकृया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्न सुरु गरिएको छ”, उनले भने, “पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम गर्छौँ ।” पहिचान हुन नसकेका शवको डिएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइने प्रहरी उपरीक्षक कार्कीले बताए । प्रतिष्ठानमा ल्याइएकामध्ये नौ शवलाई मणिपाल शिक्षण अस्पतालमा राखिएको उनको भनाइ छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका शव पहिचान तथा परीक्षणका लागि बिहीबार पोखरा ल्याइएको थियो ।   शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ । आफन्तहरू तस्बिर हेरेर शव पहिचान गर्ने प्रयासमा छन् । प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले शव खोजीमा आएका आफन्तहरूलाई खाना र बासको व्यवस्था मिलाइएको बताए । शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ । “आफन्तहरू शवको खोजी र पहिचानका लागि ठाउँठाउँबाट आइरहनुभएको छ”, प्रजिअ गुरुङले भने, “बाढीले बगाएर शव विभिन्न जिल्लामा पुर्‍याएका कारण शव पहिचान नै जटिल बन्दै गएको छ ।” धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकिएमा कानुनी व्यवस्थाअनुसार पोखरामै समाधिस्त गरिने उनको भनाइ छ । त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो ।