अलपत्र यात्रुको उद्धारका लागि काठमाडौँ महानगरपालिकाबाट निःशुल्क यातायात सुरु 

  • शनिबार १३ भौ २०८३ ११:४७ AM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट एउटा गाडीबाट सुरु गरिएको सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइयो ।  आजबाट २ वटा सवारी साधन राखिएको छ । २ वटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने ००६ ख ९३३९ नम्बरको गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी हो । यसमा १० जना यात्रु अट्टाउँछन् । निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि व्यानर राखिएको छ । यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ ।  सवारी साधनमा परिचालन गरिएका जनशक्तिलाई विपद व्यवस्थापनमा प्रोत्साहित गर्न आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर, विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा सभा गृहमा आउनुभएको थियो ।  उहाँहरुले यात्रुहरुका अपेक्षा, सेवा सञ्चालनको लक्ष्य अनुरुप सेवा गर्न प्रोत्साहित गर्नुभएको थियो ।  यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्मका लागि हो । कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा कार्य थलो भएर विपद पछि अलपत्र परेका काठमाडौँ आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौँबाट त्यस क्षेत्रमा जानुपर्ने व्यक्ति लक्षित वर्ग मानेर यो सेवा थालिएको हो ।  यी सवारी साधनले दिनमा २ पटक यात्रु ओसार्नेछन् ।