काठमाडौं । भारतले रसुवाको भोटेकोशी आएको भीषण बाढीमा परेर अहिलेसम्म ३२० जना भारतीय नागरिक बेपत्ता भएका बताएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार राति नेपालको बाढीमा अहिलेसम्म ३२० भारतीय बेपत्ता भएका बताएको हो । मन्त्रालयले अहिलेसम्म ८४ भारतीय नागरिकको सुरक्षित उद्धार भएको पनि जनाएको छ । जसमा तमिलनाडुका २१ जना रहेका छन् । ‘उनीहरू शुक्रबार भारत फर्किएका छन्,’ मन्त्रालयले भनेको छ, ‘६३ जना त्रिशूली–वन प्रोजेक्टमा काम गरिरहेका थिए । उनीहरूको सुरक्षित उद्धार भइसकेको छ ।’ विदेश मन्त्रालयले अन्य १४९ भारतीय नागरिक चीनबाट सुरक्षित नेपाल पुगेका पनि बताएको छ । मन्त्रालयका अनुसार झण्डै ४०० भारतीय नागरिक चीनमा सुरक्षित छन् । ‘भारतीय दूतावास लगातार उनीहरूसँग सम्पर्कमा छ,’ मन्त्रालयले भनेको छ, ‘उनीहरूलाई त्यहाँबाट ल्याउने प्रयास जारी छ ।’भारतीय विदेश मन्त्रालयको यो तथ्यांक शुक्रबार राति १० बजेसम्मको भएको बीबीसीले जनाएको छ ।