काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले तेस्रोलिंगीमाथि महिलाभन्दा पनि बढी हिंसा र असुरक्षा रहेको बताएकी छन्। उनले संविधानमा लेखिएको र सर्वोच्च अदालतले दिएको आदेशलाई समेत समाजले व्यवहारमा कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। शुक्रबार मायाको पहिचान नेपालले गरेको छलफल कार्यक्रममा सांसद शर्माले संविधानले दिएका अधिकार कानूनले सुनिश्चित गर्नुपर्नेमा अहिलेसम्म त्यससम्बन्धी कानूनहरू नबनेको बताइन्। कार्यक्रममा पहिलो संविधानसभाका सदस्य सुनिल बाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायको राजनीतिक प्रतिनिधित्वका सवालमा एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेका थिए। सांसद शर्माले भनिन्- ‘संविधानमा लेखिएको छ, सर्वोच्च अदालतले आदेश दिएको छ। व्यवहारमा कार्यान्वयन भयो कि भएन, यो प्रस्तुतिले गर्दा क्लियर भएको छ। आगामी दिनमा संसदमा विधेयकहरू पेश गर्दा यहाँहरूले पनि पहल गर्ने। म कानुन समितिमा छु, यसलाई सहजताका साथ अगाडि लैजान मैले पहल लिनेछु।' सांसद शर्माले महिलाको जनसंख्याको आधारमा ५१ प्रतिशत उपस्थिति रहेको भए पनि अहिले राज्यले बल्ल ३३ प्रतिशतको कुरा गरिरहेको बताइन्। ‘हामी महिला, जनसंख्याको आधारमा ५१ प्रतिशत उपस्थिति छ। अहिले बल्ल राज्यका निकायहरूमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित भएको छ। संविधानले, कानूनले ग्यारेण्टी नगरेसम्म हाम्रो प्रतिनिधित्व बढ्ने देखिदैन,' उनले भनिन्। कानुनले बाध्यता गरेको ठाउँबाहेक सीमान्तकृत समुदायले आफ्नो प्रतिनिधित्व खोज्न पाउने अवस्था नरहेको उनको भनाइ छ। सांसद शर्माले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि हुने शोषण र हिंसाको अवस्था अझै अप्ठ्यारो रहेको बताइन्। ‘हामी शोषणमा परेका छौँ, हिंसा छ, आज तीन वर्षको बच्चादेखि लिएर वर्किङ स्पेसमा हेर्यो भने पनि हिंसा छ। तेस्रोलिंगीलाई महिलाभन्दा पनि बढी हिंसा भइरहेको छ,' उनले भनिन्। उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सबै व्यक्ति अझै खुलेर आउन नसकेको बताइन्।