भोटेकोसी बाढीपीडितका लागि दीपकराज गिरीको ‘आमा सरस्वती मुभिज’ मार्फत तीन लाख सहयोग

  • शुक्रबार​ १२ भौ २०८३ ०९:३९ PM
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि आमा सरस्वती मुभिज प्रालिले तीन लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज गिरीले प्रधानमन्त्री राहत कोषमा तीन लाख रुपैयाँ जम्मा गर्ने जानकारीसहितको पत्र प्रधानमन्त्रीलाई पठाएका छन् । कम्पनीले भदौ १० गते रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठुलो जनधनको क्षति भएको भन्दै विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई राहत तथा पुनः स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ । आमा सरस्वती मुभिजले उक्त रकम तीन जिल्लाका बाढी प्रभावित क्षेत्रको राहत तथा पुनः स्थापनाका लागि उपयोग हुने अपेक्षा गरेको छ । कम्पनीले आफ्नो तर्फबाट गरिएको सहयोगले प्रभावित क्षेत्रमा राहत तथा पुनः स्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरेको छ ।