रसुवा, नुवाकोट र धादिङका बाढीपीडितलाई दोलखा समाज जापानद्वारा ५ लाख रुपैयाँ सहयोग 

  • शुक्रबार​ १२ भौ २०८३ ०७:२४ PM
टोकियो । हालै रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दोलखा समाज जापानले गहिरो दुःख तथा पीडा व्यक्त गर्दै  नेपाली रुपैयाँ पाँच लाख  सहयोग गरेको छ । बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको घर, सम्पत्ति तथा दैनिक जीवनमा गम्भीर असर परेको भन्दै समाजले यस दुःखद घडीमा पीडित परिवारको राहत तथा सहयोगका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। दोलखा समाज जापानका अध्यक्ष संजीव पोखरेलका अनुसार समाजको कार्यसमिति बैठकले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढी प्रभावित व्यक्तिहरूको राहत तथा सहयोगका लागि समाजको अक्षयकोष बाट प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा नेपाली रुपैयाँ पाँच लाख आर्थिक सहयोग प्रदान गर्ने गरेको हो। समाजले यस दुःखद घटनामा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विस्थापित एवं प्रभावित परिवारहरूको सुरक्षित पुनःस्थापनाको कामना गरेको छ। विपद्को यस कठिन घडीमा सम्पूर्ण सरोकारवाला निकाय, सामाजिक संघसंस्था तथा सहयोगी मनहरूलाई बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि आवश्यक सहयोग तथा सहकार्य गर्नसमेत दोलखा समाज जापानले हार्दिक अपिल गरेको छ। यसैबीच, वर्तमान विपद्को गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै दोलखा समाज जापानले आगामी सेप्टेम्बर ६ तारिख, आइतबार आयोजना गर्ने भनिएको तीज विशेष कार्यक्रमसमेत हाललाई स्थगित गरेको जनाएको छ। संस्थाले विपद्को समयमा मनोरञ्जनात्मक कार्यक्रमभन्दा राहत तथा मानवीय सहयोगलाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।