विपद्‌को बेला सञ्चारमाध्यमले के गर्ने, के नगर्ने ?

  • शुक्रबार​ १२ भौ २०८३ ०६:५७ PM
विपद्का समयमा सञ्चारमाध्यम र पत्रकारको भूमिका अघिपछिको भन्दा निकै संवेदनशील, जिम्मेवार र महत्वपूर्ण मानिन्छ । विपद्का बेलामा एउटा सही सूचनाले जीवनरक्षा गर्न सक्छ भने एउटा गलत सूचनाले ठूलो अनिष्ट निम्त्याउन सक्छ । यतिमात्र होइन सही उद्देश्य र मनसायले परिचालित भएको पत्रकार र पत्रकारिताले राहत र उद्धारमा प्रभावकारी निर्वाह गर्न सक्छ भने नकारात्मक सोच भएकाको गतिविधिबाट समस्या थप बल्झन सक्छ ।    नेपालमा बुधवार (२०८३ साउन १०) तिव्वततिरबाट भोटेकोशी नदीमा आएको बाढी, जो पछि त्रिशूली र नारायणी नदीमा पनि मिसियो, जसले पुर्‍याएको क्षति र त्यसपछि सिर्जित अवस्थाका सन्दर्भमा पत्रकार र सञ्चारमाध्यमको भूमिकासम्बन्धमा वहस सुरु भएको छ । पछिल्लो समयमा नेपालका थुप्रै पत्रकार न्यू मिडियामार्फत लाइक, शेयर, कमेन्ट र भ्यूजर्फ केन्द्रित भएको हुँदा यतिखेर नेपाली मिडियाको ठूलो हिस्सा आफ्नो मूल दायित्व र कर्तव्यबाट विमुख भएको हो कि भन्ने अवस्था सिर्जना भएको छ ।  आचारसंहिता र स्व–नियमन त्यसो त पत्रकार आचारसंहिताको जहिले पनि जुनसुकै बेला पनि महत्वपूर्ण भूमिका हुन्छ । तर विज्ञका अनुसार विपदका बेलामा पत्रकार आचारसंहिताको महत्व अझै बढ्दछ । यस्तो अवस्थामा पत्रकारले विवकेको प्रयोग गर्नु आवश्यक छ । हुन त हामीकहाँ प्रेस काउन्सिल नेपालले जारी गरेको आचारसंहिता कार्यान्वयन्मा छ तर विपद्का अवस्थामा त्यो संयन्त्रमात्र पर्याप्त नहुन सक्छ ।  निश्चय पनि आचारसंहिताको कार्यान्वयन् निकै महत्वपूर्ण हुन्छ । आचारसंहिताको कार्यान्वयनले जहाँ एकातिर मिडियालाई विश्वसनीय र प्रभावकारी बनाउन सहयोग पुर्याउँछ भने अर्कोतिर देश र समाजप्रति जिम्मेबार र उत्तरदायी बन्न पनि प्रेरित गर्दछ । आचारसंहिताको पालन एउटा सञ्चारगृहका लागि जति महत्वपूर्ण हुन्छ सञ्चारकर्मीका लागि पनि त्यति नै महत्वपूर्ण हुन्छ । यसले एकजना सञ्चारकर्मी वा पत्रकार कति व्यवसायिक र आफ्नो पेशाप्रति कति जिम्मेबार छ भन्ने कुराको मापन पनि गर्दछ ।  पछिल्लो समयमा मिडियामा स्व–नियमनको विषय विश्वव्यापी चर्चामा छ । नेपालमा अलि ढिलो गरी वहस प्रारम्भ भएको स्व–नियमनको सन्दर्भले सरोकारवालालाई सोच्न उत्प्रेरित गरेको छ । सायद, अहिलेको भोटेकोशीको बाढी र त्यसपछि सिर्जित अवस्थामा नेपालमा स्व–नियमनको वहस एकपटक पुनः सान्दर्भिक हुन पुगेको छ । नेपालमा यदाकदा स्व–नियमनलाई स्व–नियन्त्रणका रुपमा पनि बुझ्ने गरिएको छ, जो गलत हो । मिडियमा स्व–नियमनको सामान्य अर्थ भनेको मिडिया र मिडियाकर्मीले उत्तरदायी र जिम्मेबार भई आफ्नो काम र भूमिका आफै निर्देशित गर्नु हो । अहिलेको अवस्थामा पत्रकार र मिडियाले हदैसम्मको ‘विवेक’ प्रयोग गरी स्वपरिभाषितरुपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु अपरिहार्य छ ।  प्राकृतिक वा मानव सिर्जित विपद्का बेला नागरिकलाई सही सूचना दिएर ज्यान जोगाउने, उद्धारमा सहयोग पुर्‍याउने र पीडितलाई राहत दिलाउन पहल गर्ने जिम्मेवारी मिडियाको हो । यस्ता घटनामा पत्रकारले समाचार सङ्कलन, सम्पादन र सम्प्रेषण गर्दा विशेष ध्यान दिनुपर्छ । यस आलेखमा विपद्का बेला पत्रकार र मिडियाले निर्वाह गर्नुुपर्ने भूमिका, अपनाउनुपर्ने सावधानी, सम्प्रेषण गर्नुपर्ने सूचना र सूचना प्रवाह गर्ने तरिकाबारे केही चर्चा गर्ने प्रयत्न गरिएको छ ।  विपद्मा पत्रकारिता : मिडिया र पत्रकारको भूमिका प्राकृतिक विपद् भन्नाले सामान्यतया बाढी, पहिरो, भूकम्प, वा हिमपहिरो आदि भन्ने बुझिन्छ । यस्ता विपद् पूर्वसूचनाबिना वा पूर्वतयारी नपुग्दै आउँछन् । हालै तिब्बततिरबाट आएको बाढीले भोटेकोशी, त्रिशूली र नारायणी नदीमार्फत विकराल अवस्थामात्र निम्त्याएन बरु यसले नेपाल भविष्यमा पनि विपद्को उच्च जोखिममा रहेको पुष्टि गरेको छ । यस्तो संवेदनशील अवस्थामा सञ्चारमाध्यम (मिडिया) केवल सूचनाको वाहकमात्र नभएर मानवीय सेवा, नागरिक सुरक्षा र संकट व्यवस्थापनको अभिन्न अंग बन्नुपर्छ । सायद विपदमा पत्रकार र सञ्चारकर्मीको सबैभन्दा महत्वपूर्ण भूमिका यही हो ।   विपद्का बेला सनसनीपूर्ण समाचार बनाएर पत्रकार र सञ्चार संस्था ‘टीआरपी’ वा भ्यूजका लागि मरिहत्ते गर्नेे होइन ताकि नागरिकको ज्यान जोगाउने र राहत तथा उद्धारलाई प्रभावकारी बनाउने दिशामा केन्द्रित हुनु वाञ्छनीय हुन्छ । विपद्को समयमा सञ्चारमाध्यमले तीन मुख्य चरणमा काम गर्नुपर्छ, पहिलो, विपद्पूर्व, दोस्रो, विपद्को समयमा र तेस्रो विपद्पश्चात । विपद् आउनुअघि जल तथा मौसम विज्ञान विभाग वा अन्य सरोकारवालाले संस्थाले उपलब्ध गराएका सूचनालाई पत्रकारले गम्भीरतापूर्वक ग्रहण गरेर सर्वसाधारणले बुझ्ने सरल भाषामा तुरुन्त प्रसार गर्नु आवश्यक हुन्छ । हामीकहाँ विगतमा मेलम्ची नदीमा आएको बाढीबाट जोगाउन स्थानीय रडियोले निर्वाह गरेको सकारात्मक भूमिकालाई उदाहरणका रुपमा लिन सकिन्छ । यसै सन्दर्भमा पत्रकारले सत्य र तथ्यपूर्ण सूचना प्रवाह गरेर आफ्नो भूमिका निर्वाह गनुपर्छ । भनिन्छ, पत्रकारितामा जानकारी सत्य र वस्तुनिष्ठमात्र भएर पुग्दैन, परिपक्व र आवश्यकतामा आधारित पनि हुनुपर्छ । कहिलेकाहीँ सूचना सत्य हुँदाहुँदै पनि त्यसले समाजको तत्कालको आवश्यकतालाई सम्बोधन गर्दैन र त्यसले नकारात्मक प्रभाव पनि सिर्जना गर्न सक्छ भने त्यस्तो सूचना सम्प्रेषण नगर्नु नै उचित हुन्छ । यस्तै अफवाह, भ्रामक खबर र काल्पनिक तथ्याङ्कलाई रोकेर आधिकारिक र प्रत्यक्षदर्शीका आधारमा सत्य सूचना प्रवाह गर्नेतर्फ सञ्चारकर्म केन्द्रित हुनु आवश्यक छ ।  विपद्पछिको अवस्थामा उद्धार र राहतमा समन्वय गर्न पनि पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ । बाढी वा पहिरो प्रभावित क्षेत्रमा अड्किएकाहरुको स्थिति र स्थानबारे उद्धार टोली (सेना, प्रहरी, स्थानीय प्रशासन) लाई खबर पुर्‍याउने र त्यस्ता टोलीबाट आवश्यक जानकारी लिई आमव्यक्तिसमक्ष पुर्याउन पनि मिडियाले पुलको काम गर्नुपर्छ ।  यस्तै सम्बन्धित निकायलाई जवाफदेही बनाउने सन्दर्भमा पनि पत्रकार र मिडियाको निर्णायक भूमिका हुन सक्ने यथार्थलाई अस्वीकार गर्न सकिँदैन । राहत वितरणमा भएको ढिलाइ, विभेद वा भ्रष्टाचारबारे निगरानी गर्ने र पीडितका आवाज सरकारसम्म पुर्‍याएर मिडियाले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक छ । यसैगरी विपद्को त्रासबीच पनि उद्धारका सफल प्रयास, मानवीय सहायता र एकताका कथाहरू प्रसारण गरी समाजमा धैर्य र आशा जगाउने सन्दर्भमा पनि पत्रकार र मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।  पत्रकारले अपनाउनुपर्ने सावधानीहरू पहिला आफ्नै जीवन : विपद्का समयमा एउटा पत्रकारले आफ्नो दायित्व निर्वाह गर्नु निकै चुनौतीपूर्ण हुन्छ । अनेक समस्यासँग जुध्नुपर्ने हुन्छ । कहिलेकाहीँ त समाचार कि जीवन महत्वपूर्ण