पोखरा । आधुनिकताका नाममा हाम्रा विभिन्न संस्कार र संस्कृति हराउँदै गएका अवस्थामा पोखरा महानगरपालिका–३२ का ज्येष्ठ नागरिक भने वैदिक संस्कार र संस्कृतिलाई पुस्तान्तरणसँगै त्यसको मौलिकता जोगाउने अभियानमा क्रियाशील बनेका छन् । विगत दुई महिनायता पृथ्वीराजमार्गअन्तर्गत पोखरा–३२ तल्लो गगनगौँडाको गोगन मावि नजिकै रहेको पुरानो गाउँको चौतारामा जनै बनाउन सिक्ने र सिकाउने अभियान सञ्चालन गरिहेका यहाँका ज्येष्ठ नागरिकले आज वैदिक महत्वको श्रावणी स्नान संयुक्त रुपमा गरेका छन् । श्रावणी स्नानमा ज्येष्ठ नागरिकसँगै युवाको पनि सहभागिता रहेको ८१ वर्षीय कृष्णप्रसाद अधिकारीले बताए । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन गरिने श्रावणी स्नान पछिल्ला पुस्ताका लागि एकादेशको कथा जस्तै बन्ने अवस्थामा पुगेको बताउँदै उनले यसको मौलिकता जोगाउनका लागि आफूहरूले तल्लो गगनौँडाबाट प्रयास थालेको बताए । शास्त्रीय विधानमा श्रावण शुक्ल पूर्णिमाका दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले जनै फेर्नुपर्ने उल्लेखसँगै यो संस्कार प्राचीनकालदेखि प्रचलनमा आएको छ । तागाधारीहरूले जनैपूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नानका रुपमा लिइने अधिकारीले जानकारी दिए । श्रावणी स्नानको महत्वसँगै यसको प्रचलनलाई युवा पुस्तामा पनि पुगोस् भन्ने हेतुले तल्लो गगनगौँडामा आफूहरूले श्रावणी स्नान सुरु गरेको उनले जानकारी दिए । अर्का स्थानीयवासी घनश्याम खनालले आफूले आठ वर्ष अघि गैँडाकोटमा श्रावणी स्नान गरेको अनुभव बताउँदै मौलिक परम्परालाई स्थानीय रुपमा पनि सञ्चालन गर्ने उद्देश्यका साथ तल्लो गगनगौँडामा यो जमर्को गरिएको बताए । वैदिक विधिअनुसार जनैपूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षाबन्धन बाँध्ने गर्दछन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको रक्षाबन्धन धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वासले पनि यसको विशिष्ट महत्व रहिआएको उनले जानकारी दिए । विधिपूर्वक गरिने यो स्नानको आफ्नै विशिष्ट मौलिकता रहेको बताउने गोविन्द कोइराला हाम्रा संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्नु अपरिहार्य भएको धारणा राखे । “पुस्तान्तरण नहुने हो भने हाम्रा संस्कार संस्कृति पनि क्रमशः लोप हुदैँ जान्छन्”, खनालले भने, “हाम्रा संस्कृतिसँग युवापुस्तालाई पनि सँगसँगै जोडेर लैजानुपर्ने आवश्यकता रहिआएको छ ।” श्रावणी स्नान गरेपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्दतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) लगाउने गरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले जनैपूर्णिमाको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको गुरुप्रसाद पौडेलले बताए । श्रावणी स्नानसँगै आफूहरू विगतका वर्षदेखि नै वैदिक जनै बनाउने अभियानलाई पनि निरन्तरता दिएको ८१ वर्षीय अधिकारीले जानकारी दिए । आफूहरूले विगत दुई महिनायता पुरानो गाउँको चौतारामा जम्मा भएर जनै बनाउने गरेको अनुभव बताउँदै उनले यस अवधिमा जनै बनाउन इच्छा गर्नेलाई सीप पनि सिकाएको बताए । नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाइने बताउँदै अधिकारीले जनै बनाउने सीप राम्रोसँग बुझ्न र सिक्न भने समय लाग्ने बताए । आफूहरूले जनै बनाएर बेच्नेभन्दा पनि यसबारे ज्ञानसीप नयाँ पुस्तामा पुगोस् भन्ने नै रहेको उनको भनाइ छ । अधिकारीका अनुसार नियमपूर्वक जनै बनाउन त्यति सजिलो छैन । जनै बनाउन सुरुमा काँचो धागोलाई सानो चर्खाको सहायताले सँगालिन्छ ।सँगाल्नका लागि कतुवाको प्रयोग हुने बताउँदै उनले काँचो धागो बाटेपछि जनैको डोरा तयार गरिने बताए । यसरी बनेका डोरालाई तीनपटकसम्म पट्याएपछि त्यसमा शिखा पारिने र जसलाई ‘ब्रह्म ग्रन्थी’ भनिने उनले जानकारी दिए । अर्का ज्येष्ठ नागरिक कोइरालाका अनुसार नियमपूर्वक बनाएर संस्कार गरिएका जनै मात्रै लगाउनुपर्ने र त्यसको आफैँमा विशिष्ट सांस्कृतिक महत्व रहेको छ । जनै बनाउने सीपसँगै यससँग जोडिएको श्रावणी स्नानको मौलिकतालाई जोगाउँदै यसको पुस्तान्तरण गर्ने अभियानमा आफूहरू लागेको उनको भनाइ छ ।