काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोशी, त्रिशुलीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा आपत्कालीन प्रतिकार्य टोली सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार र राहतका कार्यक्रम अघि बढाएको छ । रेडक्रसले तत्काल राहतका लागि ४०० ब्लाङ्केट, ६०० त्रिपाल, १० पिस टेण्ट, ६०० डोरी, २५ पिस स्ट्रेचर, इभा म्याट्रेस, २५ प्राथमिक उपचार किट, १०० डिग्निटी किट, ५० सेट आपत्कालीन शौचालय सेट र ५२० थान डेडबडी ब्याग जस्ता राहत तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ । त्यस्तै, प्रारम्भिक द्रुत लेखाजोखा अभिमुखीकरण सम्पन्न गरी १५ जना स्वयंसेवक तथ्याङ्क सङ्कलनका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको रेडक्रस केन्द्रीय कार्यालयले जनाएको छ । स्वयंसेवकहरू परिचालन गरी विभिन्न स्थानहरूमा सेल्टरमा राखिएका ७५० जना व्यक्तिका लागि तत्काल खान मिल्ने खाना वितरण गरिएको र ५४० जना व्यक्तिहरूका लागि खाना तयार गरी उपलब्ध गराइएको छ । त्यस्तै, नुवाकोटमा पनि पारिवारिक पुर्नस्थापना सेवाका लागि सहयोग कक्ष सञ्चालन गरिएको छ । वेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यका लागि पारिवारिक पुनर्स्थापना सेवा सक्रिय बनाइएको रेडक्रसले जनाएको छ । त्यस्तै, रेडक्रसले निरन्तर रूपमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य मन्त्रालय, आपत्कालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रलगायत आइएफआरसी र विभिन्न राष्ट्रिय साझेदार सोसाइटीहरूसँग समन्वयमा प्रतिकार्यलाई अगाडि बढाइएको जनाएको छ ।