भोटेकोशी बाढीका पीडितको तत्काल उद्धार र पुनःस्थापनाको व्यवस्था गर्न एनएनडीएसडब्लुओको माग

  • बिहीबार ११ भौ २०८३ ०९:५० PM
काठमाडौँ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडीएसडब्लुओ)ले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको तत्काल खोजी, उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ । संघका राष्ट्रिय अध्यक्ष अधिवक्ता त्रिलोक चन्द विश्वास विकले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरे, शान्तिबजार, बेत्रावती, नुवाकोटको उत्तरगया, त्रिशूली बजार, ढुङ्गेबजार, देवीघाट बजार, धादिङको तल्लो गल्छी, गजुरी तथा गोरखा र चितवनका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकोप्रति दुख व्यक्त गरेका छन्।  संघले विपद्मा परी ज्यान गुमाएका नागरिक, सुरक्षाकर्मी तथा आन्तरिक र बाह्य पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हराइरहेका स्वदेशी तथा विदेशी नागरिकको सकुशल खोजी तथा उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । बाढीको मुख्य कारण चीनतर्फको हिमपहिरोका कारण हिमताल फुट्नु रहेको उल्लेख गर्दै संघले यस्तो घटना जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापक्रमले वातावरणमा पारेको असरको गम्भीर परिणाम हुन सक्ने सम्भावनासमेत रहेको जनाएको छ । संघले बाढीमा परी ज्यान गुमाएका तथा हराइरहेका नागरिकको अविलम्ब खोजतलास, उद्धार, अभिलेखीकरण, राहत वितरण तथा पुनःस्थापनामा सहयोग गर्न नेपाल सरकार, अन्तर्राष्ट्रिय विकास साझेदार, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी निकाय, जलवायु उत्थानशीलता तथा प्रतिकार्यमा क्रियाशील संघसंस्था र मानव अधिकारवादी संस्थालाई अपिल गरेको छ ।