सुर्खेत । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर कर्णालीका १० जिल्लाका १३४ जना नागरिक सम्पर्कबिहिन भएका छन् । हालसम्म आफन्त तथा परिवारका सदस्यले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा दिएको प्रारम्भिक विवरणका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय १३४ जना नागरिक परिवारको सम्पर्कभन्दा बाहिर रहेको जनाएको हो । सम्पर्कविहीन हुनेहरुमध्ये कर्णालीका विभिन्न जिल्लाबाट निजामति सेवा, गैसरकारी तथा सरकारी कार्यालयका कर्मचारी, सडक तथा जलविद्युत आयोजनामा मजदुरी गर्न गएकाहरु रहेका छन्। हालसम्म सम्पर्कविहीन हुनेहरुमा १०८ जना पुरुष, १७ जना महिला, ६ जना बालक र तीन जना बालिका रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सल्यानका ४० पुरुष, ६ महिला, दुई बालक र एक बालिका गरि ४९ जना, सुर्खेतका १० जना पुरुष, एक जना महिला गरी ११ जना, दैलेखका चार जना पुरुष र एक जना महिला गरी पाँच जना, जाजरकोटका तीन जना पुरुष, रुकुम पश्चिमका एक पुरुष, दुई महिला र एक बालक गरी चार जना, जुम्लाका ३१ जना पुरुष, हुम्लाका सात पुरुष, तीन महिला, एक बालक र एक बालिका गरी १२ जना, डोल्पाका एक पुरुष, एक महिला गरी दुई जना, मुगुका आठ पुरुष, दुई महिला, दुई बालक गरी १२ जना, कालिकोटका तीन पुरुष, एक महिला र एक बालक गरी पाँच जना सम्पर्कविहीन छन् । बाढीका कारणले सम्पर्कबिहिन हुनेको संख्यामा तलमाथि हुन सक्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठोरले बताए ।