काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएकामध्ये उद्धार गरी काठमाडौं ल्याइएकामध्ये १८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र ५ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका घाइतेको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने क्रमसमेत जारी छ । घाइतेका आफन्तजन उपचाररत अस्पतालमा पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन् । यस क्रममा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आफन्तजनको घुइँचो लागेको छ । बाढीमा परी घाइते तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले दुवै अस्पतालमा नेपाल प्रहरी नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । वीर अस्पतालमा रहेको नागरिक सहायता कक्षका अनुसार त्यहाँ उपचाररत पाँच जनामध्ये रसुवा–१ घर भएका ३८ वर्षीय विराजमान तामाङको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज उपचारपश्चात् उनलाई घर पठाउने तयारी भइरहेको छ । चिकित्सकको निगरानीमा उपचारपछि उनको अवस्था सामान्य रहेको जनाइएको छ । यसैगरी वीर अस्पतालमै उपचाररत करिब ८० वर्षीया एक वृद्ध महिलाको भने हालसम्म पहिचान खुल्न सकेको छैन । उनको साथमा परिचय खुल्ने कागजात वा अन्य विवरण नभएको तथा हालसम्म आफन्तसमेत सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीले ती वृद्ध महिलाका आफन्त वा उनलाई चिन्ने व्यक्तिले सम्बन्धित सहायता कक्षमा सम्पर्क गरी आवश्यक जानकारी दिन आग्रह गरेको छ । बाढीबाट उद्धार गरिएका घाइतेको हातखुट्टा, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । केही घाइतेलाई सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेको र उनीहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको अचानकको बाढीका कारण ठूलो क्षति भएको छ । बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ भने घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याउने क्रमसमेत जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिको पहिचान तथा अवस्थाबारे विवरण सङ्कलन गर्ने काम भइरहेको छ । उद्धार गरिएका तथा उपचारका लागि काठमाडौँ ल्याइएका व्यक्तिका आफन्तले सम्बन्धित अस्पतालमा स्थापना गरिएको नागरिक सहायता कक्षमार्फत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । बाढीका कारण प्रभावित परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन अस्पताल तथा सहायता कक्षमा पुगिरहेका छन् । प्रहरीले विपद्का समयमा अपुष्ट सूचना तथा हल्लाको पछि नलागी आधिकारिक निकायबाट प्राप्त सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कामलाई निरन्तरता दिइएको छ भने घाइतेको उपचारमा आवश्यक समन्वय भइरहेको सम्बन्धित निकायले जनाएको छ ।