बाढीपीडितका लागि कलाकार बिराज भट्टले गरे १ लाख ५१ हजार सहयोग

  • बिहीबार ११ भौ २०८३ ११:१३ AM
काठमाडौँ । अभिनेता तथा कलाकार बिराज भट्टले भोटेकोसी क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावितका लागि १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । भट्टले विपद्का कारण ठुलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि उक्त सहयोग गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । ‘भारी बाढीले नेपालका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति पुर्‍याएको खबर अत्यन्तै दुःखद छ,’ उनले लेखेका छन्, ‘यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ।’ भट्टले विपद्मा परेकाको शीघ्र उद्धार, राहत तथा सुरक्षित पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँगै सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताएका छन् । पछिल्लो समय भोटेकोसी बाढीबाट प्रभावितका लागि कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिले राहत कोषमा आर्थिक सहयोग घोषणा गर्ने क्रम बढेको छ ।