काठमाडौँ । भोटेकोसीको बाढीले ठुलो जनधनको क्षति पुर्याएपछि नेपाली कलाकार पनि राहत तथा उद्धार अभियानमा जोडिन थालेका छन् । रसुवा-भोटेकोसी क्षेत्रमा आएको बाढी तथा त्यसका कारण भोटेकोसी नदीमा अप्रत्याशित रूपमा बढेको पानीको बहावले निम्त्याएको विपत्तिप्रति कलाकारले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै आफूले सकेको आर्थिक सहयोग घोषणा गरेका छन् । कोही आफैँ प्रभावित क्षेत्रमा पुग्न नसके पनि राज्यको राहत कोषमा रकम जम्मा गरेर पीडितको साथमा उभिएका छन् । कसैले ५० हजार रुपैयाँ सहयोग गरेका छन् भने कसैले २५ हजार रुपैयाँ । रकम उल्लेख नगरेका कलाकारले पनि आफूले सक्दो सहयोग गरिसकेको जनाउँदै अरूलाई समेत सहयोग गर्न आग्रह गरेका छन् । कलाकारको सन्देशको सार एउटै छ, विपद्का बेला सहयोगको आकारभन्दा सहयोग गर्ने मन ठुलो कुरा हो । सबैभन्दा बढी रकम सहयोग गर्ने कलाकारमध्ये गायिका शान्तिश्री परियारले सरकारको विपद् राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो सहयोग सार्वजनिक गर्दै अरूलाई पनि आफूले सक्ने ठाउँबाट सहयोग गर्न आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘जहाँबाट सक्छौँ, त्यहीँबाट सहयोग गरौँ । जति सक्छौँ त्यति सहयोग गरौँ । जे सक्छौँ त्यही सहयोग गरौँ ।’ उनका अनुसार रसुवा-भोटेकोसीमा आएको बाढीका कारण त्रिशूलीमा अप्रत्याशित रूपमा पानीको बहाव बढ्दा देशले ठुलो जनधनको क्षतिसँगै आर्थिक भारसमेत बेहोर्नुपरेको छ । यस्तो कठिन परिस्थितिमा आ-आफ्नो ठाउँबाट राहत, उद्धार र समन्वयमा सहयोग गर्नु मानवीय धर्म भएको उल्लेख गर्दै परियारले आफ्नो तर्फबाट ५० हजार रुपैयाँ राहतका रूपमा जम्मा गरेको जानकारी दिएकी हुन् । उनले आफ्नो सहयोग रकम ठुलो नभएको स्विकार्दै सहयोगको मूल्य रकमले नभई त्यसले दिने सामूहिक प्रभावले निर्धारण हुने भाव व्यक्त गरेकी छन् । ‘मलाई थाहा छ, यो सहयोग रकम निकै सानो हो, तर थोपा-थोपा मिलेर नै सागर बन्ने हो,’ उनको भनाइ छ । प्राकृतिक विपत्तिले पीडित परिवारको अवस्थाप्रति भावुक हुँदै उनले प्रकृतिको कठोरताप्रति दुःख व्यक्त गरेकी छन् । पीडितको वास्तविक पीडा सम्झिँदा मन नै छियाछिया हुने बताउँदै उनले अब यस्तो विपत्ति नआओस् भन्दै भगवान्सँग प्रार्थनासमेत गरेकी छन् । शिव परियारको २५ हजार, देश दुःखमा पर्दा नागरिकको दायित्व सम्झिए गायक शिव परियारले पनि भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले आफ्नो फेसबुक स्ट्याटसमार्फत देशले आफूलाई लगाएको गुणको ऋण कहिल्यै तिर्न नसक्ने उल्लेख गर्दै देश दुःखमा परेको बेला नागरिकका रूपमा आफ्नो दायित्व पूरा गर्न सहयोग गरेको बताएका छन् । उनले लेखेका छन्, ‘देश दुःखमा परेको बेला आफू नागरिक हुनुको वास्तविक दायित्वबोधसहित’ राहत तथा उद्धारका लागि सहयोग गरेको बताएका हुन् । सहयोगसँगै उनले देश तथा विदेशमा रहेका आफ्ना संगीतप्रेमी शुभचिन्तकलाई पनि आफूले सक्ने गच्छेअनुसार सहयोग गर्न आग्रह गरेका छन् । उनका अनुसार यस्तो अकल्पनीय विपत्तिका बेला गरिएको सानो सहयोग पनि प्रभावितका लागि ठुलो सहारा बन्न सक्छ । एलिनादेखि दीपिका, प्रताप र ध्रुवसम्म गायिका एलिना चौहानले पनि २५ हजार रुपैयाँ सहयोग गरेकी छन् । उनले आफूले आफ्नो तर्फबाट सकेको सहयोग गरेको जनाउँदै अब अरूको पालो भएको बताएकी छन् । ‘सानो होस् या ठुलो, विपत्तिमा गरिएको हरेक सहयोग अमूल्य हुन्छ,’ भन्दै उनले सबैलाई हातेमालो गर्न आग्रह गरेकी छन् । गायिका दीपिका व्याम्बुले पनि २५ हजार रुपैयाँ सहयोग गरेकी छन् । देशलाई अप्ठ्यारो पर्दा आफूले सकेको सहयोग गर्नुपर्ने धारणा राख्दै उनले आफ्नो तर्फबाट देशका लागि सानो सहयोग गरेको उल्लेख गरेकी छन् । त्यस्तै, गायक प्रताप दासले पनि २५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले अहिले देश शोकमा रहेको भन्दै विपत्तिको घडीमा आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन् । ‘सक्नेले सक्दो गरौँ, एक अर्काको सहारा बनौँ,’ भन्दै उनले यस्तो समयलाई मानवीय जिम्मेवारी निर्वाह गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन् । कलाकार ध्रुव हिमालीले पनि २५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले राहत रकम आधिकारिक माध्यमबाट मात्रै सहयोग गर्न आग्रह गरेका छन् । उनले सरकारी आधिकारिक क्युआर तथा बैङ्क ट्रान्सफरमार्फत सहयोग गर्न आग्रह गर्दै आफूले गरेको सहयोग सही ठाउँमा सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् । अञ्जना बराइली: ‘भोलि हामी पनि त्यो पीडाको भागीदार बन्न सक्छौँ’ कलाकार अञ्जना बराइलीले रकम उल्लेख नगरे पनि आफूले सकेको सहयोग गरिसकेको बताएकी छन् । उनको अभिव्यक्ति भने विपद्को पीडालाई मानवीय कोणबाट बुझ्ने प्रयासका रूपमा आएको छ । उनले विपत्ति समय मागेर नआउने र कसैको अवस्था हेरेर मान्छे नछान्ने बताउँदै अहिले समाचारमा देखिएका बाढीका दृश्य कुनै टाढाको ठाउँका नभएको उल्लेख गरेकी छन् । घर बगेका, परिवार विस्थापित भएका र पीडामा रहेका मानिस आफ्नै देशका, आफ्नै समाजका मानिस भएको उनको भनाइ छ । ‘भोलि हामी पनि त्यो पीडाको भागीदार बन्न सक्छौँ,’ भन्दै उनले सहयोग गर्न गाह्रो हुनु नहुने बताएकी छन् । उनले आफूले सकेको सहयोग गरे पनि त्यो पर्याप्त नभएको भन्दै अब अरूलाई पनि रकमको आकारभन्दा मन ठुलो बनाएर सहयोग गर्न आग्रह गरेकी छन् । उनका अनुसार सहयोगको मूल्य रकमले होइन, त्यसले पुर्याउने प्रभावले मापन हुन्छ । बराइलीले विपद्को समयमा आधिकारिक सरकारी माध्यमबाट मात्रै सहयोग गर्न आग्रह गर्दै पीडित परिवारलाई आर्थिक सहयोगसँगै ‘हामी उनीहरूको साथमा छौँ’ भन्ने विश्वास दिलाउन पनि उत्तिकै आवश्यक रहेको बताएकी छन् । उनको सन्देशको निष्कर्ष छ, नेपाल सबैको साझा घर हो, कसैको एक्लो जिम्मेवारी होइन । सुरक्षा पन्त: ‘सक्ने गरौँ, नसके थप केही नबिगारौँ’ अभिनेत्री सुरक्षा पन्तले पनि प्रधानमन्त्री कार्यालयअन्तर्गतको दैवी प्रकोप कोषमा सहयोग गरेको जानकारी दिएकी छन् । उनले राहत तथा उद्धार व्यवस्थापनमा पूर्ण पारदर्शिता र प्रभावकारी खर्चको अपेक्षा राख्दै आफूले केही रकम सहयोग गरेको बताएकी हुन् । उनको सन्देश छोटो तर अर्थपूर्ण छ, ‘यो समय सकेको गरौँ । नसके थप केही नबिगारौँ ।’ अर्थात् सहयोग गर्न नसक्नेले कम्तीमा विपद्का बेला गलत सूचना, अनावश्यक प्रचार वा अवरोध सिर्जना नगर्नुपर्ने उनको आग्रह देखिन्छ । अनिता बस्नेतको आग्रह: व्यक्तिगत खातामा होइन, आधिकारिक माध्यममा सहयोग कलाकार अनिता बस्नेतले पनि विपत्तिको घडीमा सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेकी छन् । उनले ‘थोपा-थोपा मिलेर सागर बन्छ’ भन्दै सहयोगको भावना फैलाउन आग्रह गरेकी छन् । साथै उनले व्यक्तिगत खातामा पैसा जम्मा गर्ने वा माग्ने काम नगरी सभ्य नागरिकको परिचय दिनसमेत आग्रह गरेकी छन् । यो आग्रहमा कलाकारले विपद्का बेला आर्थिक सहयोग सङ्कलनका नाममा हुन सक्ने अनियमितता र भ्रमबाट समेत सावधान रहनुपर्ने सन्देश दिएका छन् । ‘आफ्नो अवस्था र क्षमताअनुसार राज्यको साथमा उभिऔँ’ गायक चन्द्र शर्माले आफू भौतिक रूपमा प्रभावित क्षेत्रमा पुग्न नसके पनि आफ्नो अवस्था र क्षमताअनुसार राज्यको साथमा उभिनुपर्ने बताएका छन् । उनका अनुसार विपद्को समयमा गरिएको सानो सहयोगले पनि प्रभावित परिवारलाई ठुलो हौसला र राहत दिन सक्छ । गायिका देवी घर्तीले पनि देशमा परेको विपत्तिमा आफ्नो तर्फबाट सानो सहयोग गरेको जनाएकी छन् । त्यस्तै प्रीति आलेले सबैले सक्दो साथ र सहयोगबाट दिनको सुरुवात गर्न आग्रह गरेकी छन् । उनले आफूले सहयोग गरिसकेको बताउँदै अरूलाई पनि नेपाल सरकारको आधिकारिक खातामार्फत सहयोग गर्न आग्रह गरेकी छन् । सहिमा श्रेष्ठदेखि सीमा नेपालीसम्मको एउटै अपिल गायिका सहिमा श्रेष्ठले विपद्को कठिन समयमा पीडित परिवारको साथमा उभिनु साझा जिम्मेवारी भएको बताएकी छन् । आफूले आफ्नो तर्फबाट सकेको सहयोग गरिसकेको जनाउँदै उनले अरूलाई पनि सहयोग गर्न आग्रह गरेकी छन् । ‘सानो सहयोगले पनि कसैको जीवनमा ठुलो अर्थ राख्न सक्छ,’ भन्दै उनले सहयोगको भावना फैलाउन आग्रह गरेकी छन् । गायिका सीमा नेपालीले देश रोएको र आफ्नो मन पनि रोएको भाव व्यक्त गर्दै बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । उनले पनि आफ्नो तर्फबाट सहयोग गरेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । गायिका निरुता खत्रीले पनि विपद्को घडीमा आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् । कलाकारको सहयोग: रकमभन्दा ठुलो सामूहिक सन्देश भोटेकोसी बाढीपछि कलाकारले गरेको आर्थिक सहयोगलाई केवल रकमका रूपमा मात्रै हेर्नुभन्दा यसको सामूहिक सन्देश महत्त्वपूर्ण देखिन्छ । कसैले ५० हजार दिए, कसैले २५ हजार । कसैले रकम सार्वजनिक गरेनन् । तर उनीहरूको अभिव्यक्तिमा एउटै कुरा दोहोरिएको छ, विपद्का बेला कोही एक्लो नहोस् । शान्तिश्री परियारको ५० हजार रुपैयाँदेखि शिव परियार, एलिना चौहान, दीपिका व्याम्बु, प्रताप दास र ध्रुव हिमालीको २५-२५ हजार रुपैयाँसम्मको सहयोगले राहत अभियानमा कलाकारको सहभागिता देखाएको छ । त्यसबाहेक अञ्जना बराइली, सुरक्षा पन्त, अनिता बस्नेत, चन्द्र शर्मा, देवी घर्ती, प्रीति आले, सहिमा श्रेष्ठ, सीमा नेपाली, निरुता खत्रीलगायतले पनि आफूले सकेको सहयोग गरेको सार्वजनिक रूपमा बताएका छन् । कलाकारका यी अभिव्यक्तिले एउटा साझा भाव बोकेका छन्, विपत्ति कसैको व्यक्तिगत समस्या होइन, सामूहिक सङ्कट हो । त्यसैले सहयोग पनि सामूहिक हुनुपर्छ । कसैले ठुलो रकम दिन सक्छन्, कसैले सानो । कोही घटनास्थलमै पुगेर उद्धारमा खटिन सक्छन्, कोही राहत सामग्री जुटाउन सक्छन्, कोही आर्थिक सहयोग गर्न सक्छन् र केही गर्न नसक्नेले कम्तीमा गलत सूचना नफैलाएर, पीडितको पीडालाई तमासा नबनाएर पनि योगदान गर्न सक्छन् । कलाकारले आफ्ना हजारौँ-लाखौँ दर्शक तथा शुभचिन्तकमाझ दिएको सन्देशले राहत अभियानलाई थप व्यापक बनाउन सक्ने अपेक्षा गरिएको छ । प्राकृतिक विपत्तिले घरबार, आफन्त र जीवनको आधार गुमाएका परिवारका लागि अहिले राज्यको राहतसँगै समाजको साथ आवश्यक छ । कलाकार सहयोगले रकमको हिसाबमा ठुलो-सानो जे भए पनि एउटा कुरा भने प्रस्ट पारेको छ, विपद्को घडीमा हातेमालो गर्ने हो भने थोपा–थोपा सहयोगले नै ठुलो राहतको रूप लिन सक्छ ।