जनकपुरधाम । भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीसहित प्रदेश सरकारका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको बुधवार बसेको बैठकले विपद्का कारण प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो । बैठकले भोटेकोसी बाढीबाट भएको जनधनको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बाढीमा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । विपद्का कारण प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्न मधेस प्रदेश सरकारले प्रदेशका नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार क्षेत्रलाई समेत अपिल गरेको छ । सरकारले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ ।