काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट घाइते भई उपचाररत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आङ्देम्बेले बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र ट्रमा सेन्टर पुगेर बाढीमा परी घाइते भएकाहरूलाई भेटेका हुन्। उनले उपचाररत घाइतेसँग भेट गरी उनीहरूको स्वास्थ्य अवस्था, उपचारको स्थिति र अस्पतालले उपलब्ध गराइरहेको सेवाबारे जानकारी लिएका थिए। घाइतेहरूको अवस्था बुझ्दै आङ्देम्बेले विपद्को समयमा उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराए। बाढीबाट घाइते भएका नागरिकको जीवनरक्षा र उपचार सरकारको पहिलो प्राथमिकतामा हुनुपर्नेमा उनले जोड दिए। उनले घाइतेहरूको उपचारमा आवश्यक पर्ने औषधि, स्वास्थ्य सेवा तथा अन्य व्यवस्थापनमा कुनै समस्या भए तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे। विपद्का कारण घाइते भएका नागरिकलाई राज्यले अभिभावकीय भूमिका निर्वाह गर्दै आवश्यक सबै सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो। आङ्देम्बेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे। उनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा नेपाली कांग्रेस रहेको बताए। ‘विपद्को यो समयमा घाइतेहरूको उपचारमा कुनै कमी हुनु हुँदैन। राज्यले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर नागरिकको जीवनरक्षा र उपचारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने। आङ्देम्बेले उद्धार, राहत र उपचारका लागि सरकारलाई आवश्यक सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको पनि बताए। विपद्को सामना गर्न राजनीतिक दल, सरकार, सुरक्षा निकाय र नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।