भोटेकोशी बाढी प्रभावितका लागि राहत र बीमा दाबी प्रक्रिया सहज बनाउन माग

  • बुधबार १० भौ २०८३ ०८:०४ PM
काठमाडौँ। नेपाल बीमा सर्भेयर संघ (NISA)ले भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट पीडितहरूलाई तत्काल खोज तथा उद्धार र राहतको उचित प्रबन्ध गर्न माग गरेको छ।  संघले पीडितहरूको बीमा दाबीलाई सहज बनाउन समेत सम्बन्धित निकायसँग माग गरेको छ। संघका अध्यक्ष ईन्जिनियर ऋषि कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै बाढीका कारण रसुवालगायत आसपासका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन्।  संघले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।  बेपत्ता व्यक्तिको खोजी तथा प्रभावितको उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ । बाढीबाट निजी तथा सार्वजनिक सम्पत्ति, भवन, उद्योग व्यवसाय, सवारीसाधन, निर्माणाधीन आयोजना, जलविद्युत् आयोजना, मेसिनरी तथा उपकरणलगायत विभिन्न बीमित सम्पत्तिमा ठूलो क्षति पुगेको हुन सक्ने संघले जनाएको छ । संघले क्षति भएका बीमित व्यक्ति तथा संस्थालाई आफ्नो बीमा कम्पनीमा यथाशीघ्र दाबीसम्बन्धी सूचना दिन र क्षतिग्रस्त सम्पत्तिको अवस्था सम्भव भएसम्म सुरक्षित राख्न आग्रह गरेको छ । आवश्यक फोटो, भिडियो, बिल, कागजात तथा अन्य प्रमाण सुरक्षित राख्न पनि संघले अनुरोध गरेको छ । त्यस्तै, सम्पूर्ण निर्जीवन बीमा कम्पनीमा प्राप्त हुने बाढीजन्य दाबीको दर्ता, सर्भेयर नियुक्ति तथा दाबी फछ्र्योट प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रभावकारी बनाउन संघले आग्रह गरेको छ । नेपाल बीमा सर्भेयर संघले आफ्ना सम्पूर्ण सदस्य सर्भेयरलाई प्रभावित क्षेत्रमा प्राप्त हुने सबै कार्यलाई उच्च प्राथमिकतामा राखी निष्पक्ष, व्यावसायिक तथा शीघ्र रूपमा क्षति मूल्याङ्कन गरी प्रतिवेदन पेस गर्न अनुरोध गरेको छ । आवश्यक अवस्थामा प्रभावित क्षेत्रमा बीमा दाबी तथा क्षति मूल्याङ्कन कार्यलाई सहज बनाउन सम्बन्धित निकाय तथा बीमा कम्पनीसँग समन्वय र सहकार्य गर्न संघ तयार रहेको जनाएको छ ।