काठमाडौँ। दलित गैरसरकारी संस्था महासंघ (डीएनएफ) ले चीनको तिब्बततर्फको हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अप्रत्याशित तथा विनाशकारी बाढीबाट प्रभावितको खोज, उद्धार र पुन: स्थापनामा जुट्न अपिल गरेका छन्। महासंघले बाढीका कारण रसुवा जिल्लाको स्याफ्रुबेँसी, टिमुरे, शान्तिबजार, बैबातिविलगायत, नुवाकोट जिल्लाको उत्तरगया, त्रिशूली बजार, ढुंगेबजार, देवीघाट बजारलगायत तथा धादिङ जिल्लाको तल्लो गजुरी र गजुरीलगायतका क्षेत्रमा तथा गोरखा र चितवनका केही स्थानमा समेत अपूरणीय मानवीय तथा भौतिक क्षति भएकोप्रति दुख व्यक्त गरेको छ। महासंघका अध्यक्ष जेबी विश्वकर्माले विज्ञप्ति जारी गर्दै उक्त विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति दुख व्यक्त गर्दै यो घटना जलवायु परिवर्तनले वातावरणमा पारेको असरस्वरूप पृथ्वीमा बढेको तापक्रमको गम्भीर दुष्परिणाम भएको बताएका छन्। प्राकृतिक विपद्मा परी ज्यान गुमाउन पुगेका नागरिक, सुरक्षाकर्मी तथा आन्तरिक र बाह्य पर्यटकप्रति महासंघले गहिरो समवेदना व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा हराइरहेकाको सकुशल उद्धारको कामना गरेको छ । महासंघले महाविपद्मा परी ज्यान गुमाएका तथा हराइरहेका नागरिकको अविलम्ब खोजी, उद्धार, अभिलेखीकरण, राहत तथा पुनःस्थापनाको काममा लाग्न नेपाल सरकार, अन्तर्राष्ट्रिय विकास साझेदार निकाय, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशीलता तथा प्रतिकार्यमा क्रियाशील संघसंस्था र मानव अधिकारवादी संघसंस्थासमक्ष अपिल गरेको छ ।