सन्धिखर्कका कर्मचारीको सात दिनको तलब राष्ट्रिय विपद् राहत कोषमा दिने

  • बुधबार १० भौ २०८३ ०८:३० PM
अर्घाखाँची। सन्धिखर्क नगरपालिकाका कर्मचारीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङलगायत जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सात दिन बराबरको तलब राष्ट्रिय विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले नगरपालिका कार्यालय तथा मातहतका कार्यालय (वडा कार्यालय, स्वास्थ्य संस्था) मा कार्यरत राष्ट्रसेवक कर्मचारीको खुद तलबभत्तामध्ये एक हप्ता बराबरको रकम कट्टा गरी राष्ट्रिय विपद् राहत कोषमा उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए।  विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै सहयोग पुर्‍याउन कर्मचारीको तलबबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए।