काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा पुर्याएको क्षतिबाट विपद्मा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले आज साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपद्बारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तिव्रता दिन आग्रह गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवामा गएको बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले विपद्मा परेकालाई सहयोग, उद्धार राहतका लागि राज्यका सबैं सयन्त्र परिचालन गरी हरसम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने बताएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा अकस्मात गएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका थिए । उनले विपद्को यस घडीमा उद्धार र राहतलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गरेका थिए । साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उनले आग्रह गरेका थिए ।