काठमाडौँ। नेपाल तरुण दलका अध्यक्ष मनिष कोइरालाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको खोज तथा उद्धार र राहतमा जुट्न अपिल गरेका छन्। अध्यक्ष कोइरालाले विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत प्रभावित क्षेत्रका नेता कार्यकर्तालाई उद्धार, राहत तथा मानवीय सेवामा तत्काल जुट्न आह्वान गरेका हुन्। रसुवामा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, पहिरोगाउँ, वेत्रावती बजार, भैँसे हुँदै त्रिशूलीबजार र देवीघाटलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गरेको छ। तरुण दलले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। त्यस्तै, तरुण दलले बाढीबाट प्रभावित क्षेत्रमा राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी उद्धार, राहत र उपचारलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ। साथै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गर्न पनि उसले माग गरेको छ।