६ करोड वैधानिक आय, साढे ९ करोड खर्च-नापीका सर्वेक्षकविरुद्ध अख्तियारको मुद्दा

  • मङगलबार ९ भौ २०८३ ०४:३९ PM
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी पश्चिममा कार्यरत सर्वेक्षक विन्देश्वर साह सुँडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । अख्तियारका अनुसार साहले सार्वजनिक सेवामा रहँदा आर्जन गरेको वैधानिक आयभन्दा अस्वाभाविक रूपमा बढी सम्पत्ति सिर्जना तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ । साहले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा अमिन (राजपत्र अनङ्कित द्वितीय श्रेणी)मा अस्थायी नियुक्ति लिएको २०४६ माघ १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिलाई अख्तियारले जाँच अवधि कायम गरेको थियो । अनुसन्धानका क्रममा साह र उनीसँग एका सगोलमा रहेका परिवारका सदस्यको उक्त अवधिको आय तथा खर्च–लगानीको विश्लेषण गरिएको थियो । अख्तियारका अनुसार सो अवधिमा साहको पारिश्रमिक बचत, भत्ता, घरजग्गा बिक्री, एका सगोलको आय, ऋण तथा सापटी, शेयर बिक्री, बिमा परिपक्व तथा समर्पण आय, कृषि, छात्रवृत्ति, ब्याज, ऋण फिर्ता र सुन बिक्रीलगायतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय देखिएको थियो । तर सोही अवधिमा जग्गा तथा शेयर खरिद, सवारी साधन खरिद, बिमा प्रिमियम, अध्ययन खर्च, ऋण तथा सापटी तिरेको रकम, बैङ्क मौज्दात, ऋण तथा सापटी लगानी, जग्गा खरिदसँग सम्बन्धित कमिसन तथा अन्य खर्चसमेत गरी नौ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट देखिएको छ । यसरी साहको कुल वैधानिक आयभन्दा तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बढी खर्च तथा लगानी भएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारको निष्कर्ष छ । अख्तियारले उक्त रकम बराबरको सम्पत्ति गैर कानुनी रूपमा आर्जन गरेको दाबी गरेको छ । यस्तो सम्पत्ति साहले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको तथा केही सम्पत्ति उनकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । आयोगले साहविरुद्ध बिगो बराबरको रकम कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम बिगोअनुसार कैद तथा जरिवाना, गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा परिवारका सदस्यका नाममा रहेको त्यस्तो सम्पत्ति जफत गर्न माग दाबी गरेको छ । यस्तै, वास्तविक सम्पत्तिको विवरण नदिई सम्पत्ति लुकाई-छिपाई झुट्टा विवरण पेस गरेको कसुरमा समेत कैद तथा जरिवाना र लुकाइएको सम्पत्ति जफत गर्न माग दाबी गरिएको छ । सुमिन्त्रा देवी साहलाई भने गैर कानुनी सम्पत्तिबाट आफ्नो नाममा खरिद तथा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ । आयोगले साह र उनकी श्रीमतीविरुद्ध बुधवार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।