काठमाडौँ । राष्ट्रिय सभामा महिला अधिकार, लैङ्गिक समानता र सामाजिक न्यायका विषयमा समन्वय तथा पैरवी गर्न महिला समन्वय समिति गठन भएको छ । समितिको संयोजकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रेणु चन्द र सचिवमा नेकपा (एमाले)की सांसद सम्झना देवकोटा चयन भएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष लीला कुमारी भण्डारीको विशेष उपस्थितिमा समिति गठन गरिएको हो । समिति गठनसँगै महिला समन्वय समिति कार्यविधि-२०८३ समेत पारित गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को दोस्रो संशोधनअन्तर्गत नियम २३२ (ङ) बमोजिम गत जेठ १७ गते समिति गठन गरिएको थियो । समितिले संविधान तथा प्रचलित कानुनले सुनिश्चित गरेका महिला अधिकारको प्रभावकारी कार्यान्वयन, लैङ्गिक समानता र सामाजिक न्यायका लागि भूमिका निर्वाह गर्नेछ । समितिले लैङ्गिक सवालमा एकीकृत धारणा निर्माण गर्ने, अध्ययन तथा अनुसन्धान गर्ने, क्षमता अभिवृद्धि गर्ने तथा सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने लगायतका काम गर्नेछ ।समिति बढीमा नौ सदस्यीय रहने व्यवस्था गरिएको छ । संयोजक र सचिव भने प्रत्येक वर्ष चयन गरिनेछन् । महिला अधिकार र लैङ्गिक समानताका विषयमा राष्ट्रिय सभाभित्र साझा धारणा निर्माण गरी तीनै तहका सरकारसँग समन्वय गर्ने उद्देश्यले गठन गरिएको समितिले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलासँग सम्बन्धित सवाललाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ ।