काठमाडौँ। सभामुखको रुलिङपछि प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर हुँदैछ। भदौ १० गते अर्थात् बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यक्रम रहेको छ। कानूनबमोजिम बैठकमा सांसदहरूले सोध्ने प्रश्न पहिल्यै दर्ता गराइसक्नुपर्ने हुन्छ। जसअनुसार १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने व्यवस्था छ। तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने कम प्रश्न टिपाएका छन्। अन्य दलले भने कोटाअनुसार नै प्रश्न टिपाएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन गरेका थिए। जसअनुसार संसद् सचिवालयमा ११ वटा प्रश्न दर्ता भएका थिए। प्रश्नमाथि औपचारिक रूपमा प्रधानमन्त्री शाहले भदौ १० मा जवाफ दिनेछन्। संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराएका छन्। यस्तै, विपक्षी दल नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङले प्रश्न दर्ता गराएका छन् भने नेकपा (एमाले) का ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुन र प्रमेश हमालले प्रश्न सोध्नेछन् भने श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले प्रश्न दर्ता गराएका छन्। विगतमा प्रधानमन्त्रीका लागि प्रश्नोत्तरमा मागभन्दा बढी प्रश्नहरू दर्ता गराउने अभ्यास थियो। तर यसपटक कम प्रश्न दर्ता भएका हुन्। रास्वपाले पाएका ७ मध्ये ३ वटामात्रै प्रश्न दर्ता गराएका कारण कोटामा पनि प्रश्नको संख्या कम भएको हो।