ब्लु ब्वाइज युनियनको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा मोहन कुँवर निर्वाचित

  • मङगलबार ९ भौ २०८३ ०८:१३ AM
ओसाका, जापान । जापानको ओसाकामा नेपाली युवाहरूको सामाजिक संस्था ‘ब्लु ब्वाइज युनियन’को प्रथम महाधिवेशन तथा दोस्रो वार्षिकोत्सव समारोह भव्य रूपमा ओसाकामा सम्पन्न भएको छ। महाधिवेशनले मोहन कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संस्थापक अध्यक्ष बासुदेव लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए जापान कान्साईका संयोजक भीम काउचा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जापानस्थित विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा सहभागी अतिथिहरूले संस्थालाई दोस्रो वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा संस्थामा आबद्ध नयाँ सदस्यहरूलाई स्वागत गर्नुका साथै सांस्कृतिक नृत्य तथा देउडा प्रस्तुति गरिएको थियो। संस्थाका उपाध्यक्ष रामकुमार पाण्डेयले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष मोहन कुँवरले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थापक अध्यक्ष लामिछानेले ब्लु ब्वाइज युनियनले दुई वर्षको अवधिमा उपलब्ध क्षमता र स्रोतअनुसार नेपाली समुदायलाई लक्षित गरी विभिन्न सामाजिक तथा सेवामूलक गतिविधि सञ्चालन गरेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि समुदायको हितलाई प्राथमिकतामा राखेर संस्था अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव अनिल पाण्डेयले गर्नुभएको थियो भने कार्यक्रम संयोजन संस्थाका सदस्य अम्सुल पाण्डेले गर्नुभएको थियो। नवनिर्वाचित अध्यक्ष मोहन कुँवरले संस्थाले विगतमा गरेका सकारात्मक तथा सामाजिक कामलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सदस्यहरूको विचार, सुझाव र सल्लाहलाई सम्मान गर्दै संस्थालाई थप व्यवस्थित, सक्रिय र सशक्त बनाइने बताउनुभयो। साथै, जापानमा रहेका नेपाली समुदायलाई लक्षित गरी सामाजिक सेवा, आपसी सहयोग, युवा सहभागिता तथा रचनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने उहाँको भनाइ थियो। नवनिर्वाचित कार्यसमितिः अध्यक्ष: मोहन कुँवर,उपाध्यक्ष सन्तोष धिताल,सचिव अनिल पाण्डेय,सहसचिव झमेन्द्रकुमार कवर,कोषाध्यक्ष मदन विक र सहकोषाध्यक्ष जय अधिकारी चयन हुनुभएको छ। उपाध्यक्ष पदमा भएको आन्तरिक मतदानबाट सन्तोष धिताल निर्वाचित हुनुभएको हो। कार्यसमितिका बाँकी सदस्यहरूको टुङ्गो संस्थाको पहिलो बैठकले लगाउने नवनिर्वाचित सचिव अनिल पाण्डेयले जानकारी दिनुभयो। नयाँ नेतृत्वसँगै संस्थागत सुशासन, सामाजिक सेवा, सदस्यहरूको सक्रिय सहभागिता तथा जापानस्थित नेपाली समुदायसँगको सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ।