काठमाडौँ। चोरीको स्कुटरसहित राइड सेयरिङ गर्दै आएका एक युवकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–७ घर भई हाल काठमाडौँको नयाँ बसपार्कस्थित होटलमा बस्दै आएका ३९ वर्षीय सरोज खनाल रहेका छन् । उनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चोरीको स्कुटरसहित नियन्त्रणमा लिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नक्सालबाट भक्तपुर दरबार स्क्वायर जाने क्रममा एक यात्रुले आफ्नो ल्यापटपको झोला स्कुटरमै बिर्सिएपछि चालक सम्पर्कविहीन भएका थिए । त्यसपछि ती यात्रुले खोजतलासका लागि ट्राफिक प्रहरीलाई अनुरोध गरेका थिए । खोजतलासका क्रममा प्रहरीले खनाललाई स्कुटरसहित नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनले तेस्रो व्यक्तिको राइड सेयरिङ एपको आइडी प्रयोग गरी राइड सेयरिङ गर्दै आएको खुलेको छ । प्रहरीका अनुसार खनालबाट बरामद स्कुटरको नम्बर परिवर्तन गरिएको र उक्त स्कुटर गत साउन २३ गते काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुबाट चोरी भएको खुलेको छ । यसअघि पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले चोरी भएका मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने क्रममा एक मोटरसाइकलको डिकीभित्र आरोपी खनालको नागरिकता फेला पारेको थियो । उक्त घटनाका आधारमा खनाल लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेको र अन्य चोरीका घटनामा संलग्न हुनसक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए । प्रहरीले बरामद गरेको ल्यापटप भने सम्बन्धित व्यक्तिलाई बुझाइएको जनाएको छ । यसैबीच, प्रहरीले अवैध गरगहनासहित काठमाडौँको क्षेत्रपाटीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले करिब रु आठ लाख मूल्य बराबरका अवैध धातुका गरगहना र पत्थरसहित भारत राजस्थान जयपुरका ५७ वर्षीय शौकत अलीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार अलीले चलाएको भारतीय नम्बरको मारुति सुजुकी गाडी जाँच गर्ने क्रममा बिलबिजक नभएका विभिन्न धातुका गरगहना र बहुमूल्य पत्थर फेला परेपछि उनलाई पक्राउ गरिएको हो । बरामद सामग्रीको मूल्य करिब रु आठ लाख रहेको प्रवक्ता थापाले जानकारी दिए । पक्राउ परेका अली र बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रवक्ता थापाले बताए ।