कोशीका मुख्यमन्त्री कार्कीले प्रदेशसभामा पाए विश्वासको मत

  • सोमबार ८ भौ २०८३ ०७:०७ PM
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।  प्रदेशसभामा सोमबार भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले उनको पक्षमा मतदान गरेका थिए । कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्य छन् । दुवै दलका सबै सदस्यले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेका हुन् । मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका थिए । कांग्रेसका २९ प्रदेशसभा सदस्य रहेकामा विपक्षमा २२ मत परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित पाँच जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएनन् । जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु पनि बैठकमा उपस्थित भइनन् ।  ९३ सदस्यीय कोशी प्रदेशसभामा एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन् । सोमबारको बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए । मतदानको परिणामसँगै मुख्यमन्त्री कार्कीको सरकारलाई प्रदेशसभाको विश्वास कायम भएको छ ।