दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

  • सोमबार ८ भौ २०८३ ०१:५१ PM
काठमडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिटमा बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको छ।  सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंलाई घरबाहिर हिँड्डुल गर्न नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दिएको हो। लिखित जवाफसँगै यही भदौ ४ गते गरिएको घर खानतलासीमा बरामद सामग्री पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा आदेश जारी गरिएको छ। ‘आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक २४  घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू, साथै, निवेदनसाथ संलग्न मिति २०८३।०५।०४ को खानतलासी पूर्जीमोजिम निवेदक दुर्गा प्रसाईंको घर खानतलासी हुँदा बरामद भएका भनिएका सामान समेत पेसीको दिन लिई आउनू भनी विपक्षी जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ। भदौ ५ गते प्रसाईंकी पत्नी उमा प्रसाईंले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमा घरमा खानतलासी गरिएको विषयमा समेत प्रश्न उठाइएको छ।