राहत र समवेदनापत्र बोकेर शोकमा परेका नागरिकको घर-घरै पुग्छन् जनप्रतिनिधि

  • आइबार​ ७ भौ २०८३ १०:२९ PM
तेह्रथुम। आठराई गाउँपालिकाले सञ्चालन गरेको 'कोखदेखि शोकसम्म' कार्यक्रमअन्तर्गत १४० परिवार लाभान्वित भएका छन्।  गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले उक्त कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा १४० परिवारलाई राहत उपलब्ध गराएको हो।  गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले आफूले चुनावी घोषणापत्रमा जनतामाझ वाचा गरेअनुसार नै 'कोखदेखि शोकसम्म' कार्यक्रमबाट आठराईबासी नागरिकलाई राहत उपलब्ध गराउँदै आएको बताए। 'हामी निर्वाचित भएर आएपछि २०८० को असारमा कार्यविधि बनायौँ। त्यहीअनुसार अहिलेसम्म विपन्न नागरिकहरूलाई सहयोग उपलब्ध गराउँदै आएका छौँ,' उनले भने, 'यो सहयोग र साथ दुवै हो। हामीले नगदभन्दा पनि दुखको बेला नागरिकको साथमा स्थानीय सरकार छ भन्ने आभास दिलाउन सफल भएका छौँ भन्ने लागेको छ।' गाउँपालिकाले तय गरेको कार्यविधिअनुसार गाउँपालिकाभित्र बसोबास गर्ने आर्थिकरुपमा विपन्न नागरिकहरूको परिवारका सदस्यको मृत्यु भएमा निजको धार्मिक सामाजिक तथा सांस्कृतिक परम्परागत मृत्यु संस्कार गर्नका लागि १० हजार रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराइनेछ भने गाउँपालिकाका तर्फबाट समवेदनापत्र उपलब्ध गराइनेछ।  गाउँपालिका अध्यक्ष पाहिमले आफू स्वयम् भ्याएसम्म सबै शोकमा परेका नागरिकका घरसम्म पुगेर दुखको घडीमा साथ उभिने गरेको बताए। 'गाउँपालिकाभित्र जहाँ पनि दुखको घटना हुन्छ भने त्यहाँ पुग्ने गरेको छु, सरकारको तर्फबाट सानो सहयोग हुँदा नागरिकलाई राहत पुग्ने रहेछ,' उनले भने।  त्यस्तै, एम्बुलेन्स सञ्चालन कार्यविधि निर्माण गरी निशुल्क एम्बुलेन्स सञ्चालन मार्फत् ४१ जना सुत्केरी महिला, ३५ जना आकस्मिक दुर्घटनाका घाइते, १२ जना ज्येष्ठ नागरिक तथा ३६ जना अन्य प्रकृतिका विरामी नागरिकहरू गरी १२४ जना व्यक्ति एम्बुलेन्स सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन्।