त्यो दिन पनि अरू दिनजस्तै थियो । म कानुन मन्त्रालयमा आफ्नै काममा व्यस्त थिएँ । टेबलमा कानुनका मस्यौदा थिए, सुधार गर्नुपर्ने ऐनको सूची थियो, छलफल थिए, बैठक थिए । यो वर्ष धेरैभन्दा धेरै आवश्यक कानुन निर्माण र सुधार गर्ने ठुलो लक्ष्य लिएर काम गरिरहेकी छु । शायद म यसमा अलि बढी अधैर्य पनि छु । तर देशले वर्षौँदेखि पर्खिरहेका कानुन अब अझै पर्खिरहनु हुँदैन भन्ने हुटहुटी धेरै छ । राजनीतिमा आएपछि एउटा कुरा भने बदलिएको छ । देशको कुनै कुनामा कसैलाई अन्याय हुँदा त्यो समाचार मात्र लाग्दैन। कुनै नागरिकमाथि हिंसा हुँदा, कसैले ज्यान गुमाउँदा, कुनै परिवार उजाडिँदा मनमा डर र प्रश्न सँगसँगै आउँछ-हामी कहाँ चुक्यौँ