प्रदीप गिरिको सबैभन्दा महत्वपूर्ण कुरा पढेर दृष्टिकोण निर्माण गर्नु थियो : गगन थापा

  • शनिबार ६ भौ २०८३ ०७:२७ PM
प्रदीप गिरिको स्मृतिमा चारवटा फेलोसिप र न्याय सहायता कार्यक्रम घोषणा काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा चारवटा फेलोसिपसहित न्याय सहायता कार्यक्रम सञ्चालन गरिने बताएका छन् । प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा थापाले गिरिको अध्ययन, लेखन र दृष्टिकोण निर्माण गर्ने शैलीबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताए । थापाका अनुसार गिरिका लागि पढाइ सूचना र ज्ञान प्राप्त गर्ने माध्यम मात्र थिएन । प्राप्त ज्ञानलाई प्रशोधन गरी त्यसबाट आफ्नो दृष्टिकोण निर्माण गर्नु उनका लागि महत्वपूर्ण थियो । नेपाली कांग्रेसको नयाँ पुस्ताका धेरै नेताले गिरीबाट यही कुरा सिकेको उनले बताए । उनले भने,‘प्रदीप दाईको लेख्ने र पढ्ने बानी अलग गरेर उहाँलाई सम्झन सक्दैनौं । उहाँलाई पढेर सूचना प्राप्त हुन्छ । पढेर ज्ञान प्राप्त हुन्छ । तर उहाँको ज्ञानको प्रयोग गरेर त्यसबाट एउटा दृष्टि निर्माण गर्ने कुरा सबैभन्दा महत्वपूर्ण थियो । हाम्रो पुस्ताका नेपाली कांग्रेसका थुप्रै साथीहरुलाई प्रदीप गिरिले सिकाउनु भएको सबैभन्दा मूख्य कुरा यही नै थियो ।’ थापाले गिरि सँधैं सीमान्तकृत, कमजोर र समाजको पिँधमा रहेका मानिसको पक्षमा उभिएको उल्लेख गरे । गाउँगाउँमा पुग्दा पनि गिरिले त्यहाँका सबैभन्दा कमजोर मानिसले के महसुस गरिरहेका छन् र राज्यबाट के पाइरहेका छन् भन्ने आधारमा समाज र राजनीतिक अवस्थाको मूल्यांकन गर्ने गरेको उनले स्मरण गरे । कार्यक्रममा थापाले गिरिको विचार र योगदानलाई संस्थागत गर्न चारवटा विषयमा फेलोसिप सञ्चालन गरिने जानकारी दिए । फेलोसिपका विषयमा नेपाली राजनीति, गणतन्त्र तथा संघीयता; समावेशिता तथा सामाजिक न्याय; साहित्य, दर्शन तथा विचारको इतिहास; र युवा नेतृत्व, नागरिक शिक्षा तथा लोकतान्त्रिक नवप्रवर्तन रहेका छन् । यससँगै गिरिको व्यक्तित्व र योगदानसँग सम्बन्धित तीनवटा विशेष विषयमा समेत अध्ययन तथा अनुसन्धान गरिने भएको छ । ती विषयमा ‘प्रदीप गिरि र मधेश’, ‘प्रदीप गिरी राजनीति भन्दा पर’ तथा ‘प्रदीप र प्रेम’ रहेका छन् । ‘प्रदीप गिरि र मधेश’ अन्तर्गत मधेशको अधिकार, पहिचान र राजनीतिप्रति गिरिको दृष्टिकोणबारे अध्ययन गरिनेछ । ‘प्रदीप गिरि राजनीति भन्दा पर’ अन्तर्गत उनको दार्शनिक, सांस्कृतिक तथा साहित्यिक व्यक्तित्वबारे अनुसन्धान गरिनेछ । त्यस्तै, ‘प्रदीप र प्रेम’ अन्तर्गत उनको अन्तरंग जीवन, प्रेम, बस्तीपुर, बनारस तथा व्यक्तिगत जीवनसँग जोडिएका पक्षको अध्ययन गरिने थापाले बताए । फेलोसिप प्राप्त गर्ने प्रत्येक व्यक्तिले वार्षिक पारिश्रमिकसहित नेपाली कांग्रेस र प्रदीप गिरि इन्स्टिच्युटका अभिलेखमा पहुँच, सम्पादकीय मार्गदर्शन तथा आफ्नो अनुसन्धान प्रकाशित गर्ने अवसर पाउनेछन् । फेलोसिपको अन्तिम उपलब्धिका रूपमा अनुसन्धानकर्ताले तयार पारेको पाण्डुलिपिलाई लिइनेछ ।