काठमाडौँ । नेपाल प्रहरीमा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा २९ जना नियुक्तिका लागि सिफारिस भएका छन् । सिफारिस हुनेमा ६ जना महिला छन् भने विभिन्न समावेशी समूहबाट १३ जना रहेका छन् । प्रहरी प्रधान कार्यालयले रिक्त प्रहरी निरीक्षक (जनपद) समावेशी प्रावधानअनुसार पदपूर्तिका लागि गत मङ्सिर २६ गते विज्ञापन गरेको थियो । प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालित शारीरिक तथा सक्षमता परीक्षण तथा अन्तर्वार्तामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रमअनुसार उत्तीर्ण भएका २९ जनालाई नियुक्तिका लागि सिफारिस गरिएको हो । सिफारिस भएका २९ जनामध्ये १६ जना खुलातर्फ र १३ जना विभिन्न समावेशी समूहबाट रहेका छन् । खुलातर्फ सिफारिस भएका १६ जनामध्ये दुई जना दलित, एक जना आदिवासी जनजाति र एक जना मुस्लिम समुदायका छन् । बाँकी १२ जना खस आर्य समुदायका छन् । समग्र सिफारिसमा भने १२ जना खस आर्य र १७ जना विभिन्न सीमान्तकृत तथा समावेशी समूहका छन् । सिफारिस भएकामध्ये ६ जना आदिवासी जनजाति, पाँच जना दलित, पाँच जना मधेसी र एक जना मुस्लिम समुदायका छन् । यीमध्ये केही उम्मेदवार खुलातर्फबाटै योग्यता क्रममा परेका हुन् । महिलातर्फ भने खुला र समावेशी दुवै समूहबाट गरी ६ जना सिफारिस भएका छन् । खुलातर्फ १४औँ नम्बरमा वर्षा लिम्बु र १५औँ नम्बरमा सोनिया अधिकारी छन् । महिलातर्फ १८औँ नम्बरमा निता लम्साल र २०औँ नम्बरमा सन्जना चौरसिया सिफारिस भएका छन् । आदिवासी जनजातितर्फ १९औँ नम्बरमा एन्जल राई र २२औँ नम्बरमा रेजिना श्रेष्ठ सिफारिस भएका छन् । आदिवासी जनजातितर्फ वर्षा लिम्बुसहित विवेक आले, एन्जल राई, आशिष राई, रेजिना श्रेष्ठ र सन्जोग लिम्बु सिफारिस भएका छन् । दलित समुदायबाट दुई जना खुलातर्फ र दुई जना दलित समूहबाट गरी चार जना सिफारिस भएका छन् । खुलातर्फ चौथो नम्बरमा धिराजन परियार र आठौँ नम्बरमा उद्धव लुहार छन् । दलित समूहबाट २४औँ नम्बरमा वसन्त सुनार र २५औँ नम्बरमा विनोद चनारा सिफारिस भएका छन् । मधेसी समूहबाट सिफारिस भएका कमलेशकुमार पासवानसमेत दलित समुदायसँग सम्बन्धित भएकाले दलित प्रतिनिधित्वको समग्र सङ्ख्या पाँच पुग्छ । मधेसी समूहबाट महिलातर्फ सन्जना चौरसियासहित कमलेशकुमार पासवान, नीरजकुमार मण्डल, रामकृपाल साह र आशिष साह सिफारिस भएका छन् । पासवान समुदायगत रूपमा मधेसी र दलित दुवै पहिचानसँग जोडिए पनि उनी मधेसी समावेशी समूहबाट सिफारिस भएका हुन् । नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारलाई प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र तथा प्रतिलिपि दुई-दुई प्रति र पासपोर्ट साइजको चार प्रति फोटोसहित भदौ १५ गते सोमबार बिहान १० बजे प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालमा उपस्थित हुन सूचित गरिएको छ ।