काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरि विचारको एउटा विश्वविद्यालय भएको बताएका छन् । प्रदीप गिरिको चौथो वार्षिकीका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा बोल्दै शर्माले प्रदीप गिरिको निधनपछि आफूहरूले विचारको एउटा विश्वविद्यालय बन्द भएको अनुभूति गरेको बताए । ‘आर्यघाटसम्म प्रदीप दाईलाई पु¥याउँदै गर्दा हामीभित्र एउटा मौनता र शून्यताको अनुभूति भएको थियो। त्यो बेला मैले भनेको थिएँ, विचारको एउटा विश्वविद्यालय बन्द भयो,’ शर्माले भने, ‘थुप्रै विश्वविद्यालय हुन्छन्, तर एउटा विचारको विश्वविद्यालय त्यो दिनदेखि बन्द भएको हामीले अनुभूति ग¥यौं ।’ उनले नेपालमा विभिन्न समयमा मन्त्री बनेका नेताहरूको लामो सूची बनाउन सकिने भए पनि प्रदीप गिरि कहिल्यै मन्त्री नबनेको स्मरण गरे । मन्त्री बन्नुलाई मात्र राजनीतिक सफलताको मापदण्ड मान्ने हो भने गिरिलाई असफल भन्न सकिए पनि उनको विचार र योगदानका कारण आज पनि जीवित रहेको शर्माको भनाइ थियो । ‘सबै मन्त्रीलाई एकैचोटी भेला ग¥यौं भने सात सालदेखि आजको मितिसम्म मन्त्री भएकाहरूको लाम लगाउँदा माइतीघर मण्डलामा एउटा राम्रै जुलुसको आकार बन्छ तर त्यो आकारभित्र प्रदीप गिरि हुनुहुन्थेन । उहाँ कहिल्यै मन्त्री बन्नुभएन,’ उनले भने, ‘राजनीतिक जीवनमा मन्त्री नै बन्नु सफलता मान्ने हो भने उहाँ असफल बन्नुभयो होला । तर मन्त्री बनेर पनि हराइरहेकाहरूको भीडमा प्रदीप गिरि एउटा चम्किलो उज्यालो हुनुहुन्छ । उहाँ आज पनि जीवित हुनुहुन्छ, मनमा प्रेरणाका रूपमा हुनुहुन्छ ।’ शर्माले गिरिसँग जोडिएका थुप्रै स्मृति आफूहरूसँग रहेको उल्लेख गर्दै उनको व्यक्तित्वबाट आफू निरन्तर प्रेरित भइरहेको बताए । ‘तपाईं–हामी जहिले पनि आवरणमा जोड दिन्छौं, आवरण त एकछिनमा बदलिन्छ, दैनिक बदलिन्छ । तर आचरण भन्ने कुरा जिन्दगीभर प्रवाह रहिरहन्छ,’ उनले भने, ‘सधैं प्रेरित गरिरहने व्यक्तित्वका रूपमा म उहाँलाई लिन्छु ।’ गिरिले संसद्मा व्यक्त गरेका विचार र अभिव्यक्तिले आफूलाई अहिले पनि कर्तव्यप्रति गम्भीर बन्न प्रेरित गर्ने शर्माले बताए । विशेषगरी गाउँलाई सहरजस्तो बनाउने विकासको अवधारणामाथि गिरिले दिएको फरक दृष्टिकोण आफूले स्मरण गरिरहेको उनको भनाइ थियो । ‘उहाँले संसद्मा बोल्दा अर्थमन्त्रीलाई भन्नुभएको थियो ‘म अरू केही भन्दिनँ, तर गाउँलाई सहरजस्तो बनाउने भनेर तपाईंले जे लेख्नुभएको छ, यति सुधार गरिदिनुस् । गाउँलाई सहरजस्तो होइन, सहरहरूमा चाहिँ गाउँको जस्तो भावना गाँसिदिन्छु भन्ने कुरा’,’ शर्माले स्मरण गरे । उनले कांग्रेसभित्रका विवाद समाधानका लागि पार्टीका आन्तरिक संरचना र संवादलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे । कांग्रेसमा अधिवेशनको तयारी भइरहेका बेला असहमतिका विषय लिएर अदालत जाने प्रवृत्तिप्रति संकेत गर्दै उनले प्रदीप गिरि भएको भए राजनीतिक दलभित्रका विवाद पार्टी कार्यालयमै समाधान खोज्न सुझाव दिन सक्ने बताए । ‘कांग्रेसको सानेपाबाट अधिवेशनको तयारी हुँदै गर्दा अर्कोतर्फ भेला गरेर असहमतिहरू राख्दै अदालतको ढोका ढकढक्याउँदै गर्दा सायद प्रदीप दाइले भन्नुहुन्थ्यो होला राजनीतिक दलहरूबीचको विवादको समाधानको खोजी पार्टी कार्यालयभित्रको कोठामा गर्नुस्, अदालतको ढोकामा होइन,’ उनले भने । यद्यपि, राजनीतिक दल तथा व्यक्तिलाई सर्वोच्च अदालत जाने अधिकारबाट निरुत्साहित गर्न नमिल्ने शर्माले स्पष्ट पारे । कांग्रेसका आदरणीय नेताहरू सर्वोच्च अदालतमा रिट दर्ता गर्न गएको उल्लेख गर्दै उनले अदालतले संविधान र राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थालाई गम्भीरतापूर्वक हेर्ने विश्वास व्यक्त गरे । ‘सर्वोच्च अदालतमा जाने कुरालाई निरुत्साहित गर्न मिल्दैन । पार्टीका आदरणीय नेताहरू जानुभयो, रिट दर्ता गर्न जानुभयो । तर सम्मानित सर्वोच्च अदालतका न्यायमूर्तिहरूले टेबुलमा बसेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्दा नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनका व्यवस्थालाई पनि गम्भीरतापूर्वक हेर्नुहुन्छ,’ शर्माले भने ।