अधिकारकर्मी भन्छन्- बाल संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ 

  • शुक्रबार​ ५ भौ २०८३ ०९:१४ PM
काठमाडौँ। बाल संरक्षणमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिबिस)ले आज आयोजना गरेको ‘बाल संरक्षणमा सञ्चारमाध्यमको भूमिका’ विषयक कार्यशालाका वक्ताहरूले बालबालिकासँग सम्बन्धित विषयलाई संवेदनशील, जिम्मेवार र बालमैत्री ढङ्गले सञ्चारमाध्यममा उठाउनुपर्ने बताएका हुन् । कार्यशालामा संस्थाका अध्यक्ष विमला ज्ञवालीले बालबालिकाको अधिकार र संरक्षणका सवालमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, शोषण तथा बालश्रमका घटनालाई तथ्यमा आधारित भएर सार्वजनिक गर्नुपर्नेमा जोड दिइन्।  सहजकर्ता अधिकारकर्मी तारक धितालले बाल संरक्षणका विषयमा समाचार सम्प्रेषण गर्दा बालबालिकाको गोपनीयता, पहिचान र सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने बताए।  अर्का सहजकर्ता शिक्षा पत्रकार प्रकाश सिलवालले बालबालिकाका सवाललाई नियमित सञ्चारको प्राथमिकतामा राख्दै समस्यामात्र नभई समाधानमुखी र सकारात्मक अभ्यासलाई समेत समाचारमा स्थान दिनुपर्ने बताए।  कार्यशालामा बाल संरक्षणको वर्तमान अवस्था, बालश्रम, बाल यौन दुव्र्यवहार, बालबालिकासम्बन्धी समाचार सम्प्रेषणका क्रममा देखिएका अभ्यास तथा सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा छलफल गरिएको थियो । नेपालमा हाल ११ लाख बाल श्रमिक छन् ।