काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आफू सहभागी हुने कार्यक्रमलाई सरल, मितव्ययी र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरेकी छिन् । पछिल्लो समय सरकारी कार्यक्रममा हुने अनावश्यक तडकभडक र खर्चलाई निरुत्साहित गर्दै जनउत्तरदायी कार्य संस्कृतिको विकास गर्न यस्तो कदम चालिएको हो । मन्त्री रावलद्वारा सार्वजनिक गरिएको ‘कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका’मा स्वागतका नाममा गरिने खर्चिलो प्रदर्शनलाई पूर्णतः रोक लगाइएको छ । निर्देशिका अनुसार अब मन्त्री सहभागी हुने कार्यक्रममा फूल माला, खादा, बुके वा अन्य कुनै पनि महँगा र तडकभडकपूर्ण सामग्री अर्पण गर्न पाइने छैन । सरकारी खर्च कटौती र पारदर्शितालाई ध्यानमा राख्दै कार्यक्रम सकभर आफ्नै कार्यालयको सभा हलमा गर्न निर्देशन दिइएको छ । कार्यक्रमलाई समयमै सुरु गरी समयमै सम्पन्न गर्ने र अनावश्यक लामो स्वागत मन्तव्य, भाषण तथा औपचारिक प्रक्रियालाई हटाएर विषयवस्तुमा केन्द्रित हुन भनिएको छ । निर्देशिकाको अर्को महत्त्वपूर्ण पक्ष भनेको भिडभाड र ‘भिआइपी’ संस्कृतिलाई घटाउनु हो । अनावश्यक भिडभाड र स्वागत टोलीको व्यवस्था नगर्न, केवल विषयसँग सम्बन्धित व्यक्ति र सरोकारवालालाई मात्र सहभागी गराउन मन्त्रीले जोड दिएकी छिन् । साथै, सुरक्षाका नाममा सर्वसाधारणलाई सास्ती हुने गरी सडक अवरोध नगर्न र सवारी आवागमनलाई सहज बनाउन समेत निर्देशनमा उल्लेख छ । प्रचारमुखी प्रवृत्तिलाई निरुत्साहित गर्न कार्यक्रमका लागि छुट्टै सञ्चारमाध्यमलाई निमन्त्रणा नगर्ने र कामको नतिजालाई प्राथमिकता दिने मन्त्रालयको योजना छ । ‘सरल, मितव्ययी, प्रभावकारी र जनउत्तरदायी कार्यक्रम संस्कृति अवलम्बन गरौँ’ भन्ने मूल नाराका साथ ल्याइएको यो निर्देशिकाले प्रशासनिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ । यस्ता छन् मुख्य विशेषता फूल माला र खादाको प्रयोगमा पूर्ण रोक । समयको कडा पालना र संक्षिप्त मन्तव्य । सरकारी हलको प्रयोग र अनावश्यक भिडभाडको अन्त्य । सुरक्षाका नाममा सर्वसाधारणलाई अवरोध गर्न नपाइने । प्रचारमुखी भन्दा नतिजामुखी कार्यक्रममा जोड ।