काठमाडौँ। नेपाली कांग्रेसका राष्ट्रियसभा सचेतक पदमबहादुर परियारले गणेश नेपालीको परिवारसँग सरकारले गरेको सम्झौता पालना नगरेको बताएका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद परियारले सरकार आफैँले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै प्रश्न उठाए। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको थियो । उनको परिवारसँग नेपाल सरकार र काठमाडौं महानगरपालिकाले असार २८ गते ९ बुँदे सहमति गरेको थियो । उक्त सहमतिपछि परिवारले शव बुझ्न सहमति जनाएका थिए । घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गर्ने र सात दिनभित्र प्रतिवेदन पेस गर्न लगाउने सहमति थियो । छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्न प्रक्रिया अघि बढाउने, मृतककी श्रीमतीलाई काठमाडौं महानगरपालिका वा अन्य निकायमार्फत रोजगारी उपलब्ध गराउने भनिएको थियो । त्यस्तै, गणेशकी छोरीको उच्च शिक्षासम्मको पठनपाठनको जिम्मा लिने/व्यवस्था गर्ने र घटनाका दिन फिल्डमा खटिएका महानगर प्रहरीका संकलित कर्मचारीलाई हालका लागि निलम्बन गरी प्रतिवेदनका आधारमा थप कारबाही गर्ने विषय पनि सहमतिमा उल्लेख छ । साथै, पीडित परिवारलाई आर्थिक राहत, स्वास्थ्य बीमा तथा अन्य आवश्यक जीविकोपार्जनमा सहजीकरण गर्ने भनिएको थियो । यो सहमति कार्यान्वयन नभएको भन्दै सांसद परियारले राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले भने, ‘९ बुँदे सहमति अनुसार गणेश नेपालीका परियारले दाहसंस्कार गरे । तर सरकारले बाँकी ८ वटा बुँदा अझैसम्म कार्यान्वयन गरेको छैन ।’ उल्टै गणेश नेपालीलाई नै दोषी देखाउने गरी छानबिनको प्रतिवेदन आएको अपुष्ट खबर आएको उनले बताए । यस्तो कार्य छाडेर सहमति अनुसार अगाडि बढ्न र गणेश नेपालीलाई सहिद घोषणा गर्न उनको माग रहेको छ ।