काठमाडौँ। काठमाडौँमा सञ्चालनमा रहेका छात्राबास (होस्टेल)हरूको सञ्चालन र व्यवस्थापनका विषयमा जिल्ला प्रशासन कार्यालयले २१ बुँदे मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। शुक्रबार प्रशासनले सूचना जारी गर्दै हालैका दिनहरुमा विभिन्न प्रकारका गुनासोहरु आइरहेका र घटनाहरू भइरहेकोप्रति ध्यानाकर्षण भएको भन्दै होस्टेललाई व्यवस्थित गर्न निर्देशन दिएको हो। 'काठमाडौं जिल्लाभित्र निजी ढंगबाट सञ्चालनमा रहेका छात्रावास (होस्टेल) हरुका सम्बन्धमा हालैका दिनहरुमा विभिन्न प्रकारका गुनासोहरु प्राप्त हुन आएका छन। यसरी निजी ढगंबाट संचालनमा रहेका छात्रावासहरुको यस कार्यालयबाट नियमित एवं आकस्मिक रुपमा अनुगमन हुँदै आएको छ। गुनासो प्राप्त भएको आधारमा केही छात्रावासलाई रु तीन लाखसम्म जरिवाना र छात्रावास शिलबन्दी गर्ने कार्य समेत यस कार्यालयबाट भएको छ,' प्रशासनले भनेको छ। प्रशासनले छात्रावासहरुमा विद्यार्थीहरुलाई मानवीय व्यवहार नभएको एवं यातना समेत दिने गरेको, लाग्ने शुल्क भन्दा बढी असुल उपर गर्ने गरेको, कमजोर खालका पूर्वाधारहरु रहेको, सरसफाइमा ध्यान नदिएको जस्ता गुनासोहरू आइरहेको जनाएको छ। त्यस्तै, खाना तथा पानी लगायतका स्वच्छता सम्बन्धी मापदण्ड पुरा नगरेको, पुरुष र महिलाका लागि अलग अलग प्रकारका व्यवस्थाहरु जस्तै सुरक्षा प्रबन्ध, शौचालय, बाथरुम, सुत्ने कोठाहरु लगायतका व्यवस्थाहरु पर्याप्त नभएको, लागुऔषधको समेत दुरुपयोग हुने गरेको जस्ता गुनासा आइरहेका प्रशासनले भनेको छ। प्रशासनले छात्रावास भित्रै झडप भई विद्यार्थीको मृत्यु समेत भएको, विधार्थीहरुका लागि मनोरञ्जन कक्ष, अध्ययन कक्ष, पुस्तकालय जस्ता व्यवस्थाहरु अपर्याप्त रहेको भनी बारम्बार गुनासोहरु आउने गरेको र घटनाहरु घट्ने गरेको देखिएपछि छात्राबास सञ्चालन व्यवस्थापनका लागि २१ बुँदे निर्देशन जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। प्रशासनले छात्रावास सञ्चालन सम्बन्धमा नेपाल सरकार एवं सम्बन्धित स्थानीय तहले जारी गरेका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्न सूचित गरेको छ। छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुलाई मानवीय व्यवहार गर्ने, सुरक्षा एवं मर्यादापूर्ण रुपमा रहने वातावरण तयार गर्ने, छात्रावास भित्रको आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउने कुनै प्रकारको लागु औषध एवं मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा बन्देज लगाउनुपर्ने तथा तोकिएको निकायहरुमा छात्रावास अनिवार्य रुपमा दर्ता एवं नवीकरण गर्नुपर्ने भनेको छ। प्रशासनले छात्रावासको लागि उचित भौतिक पूर्वाधार तय गर्नुपर्ने, व्यवस्थित पुस्तकालय एवं अध्ययन कक्षको प्रबन्ध गर्नुपर्ने र छात्रावासको सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्ने मापदण्ड तोकेको छ। प्रशासनको सूचना :