मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबारमा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जनाएको हो। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठक बस्ने मिति र समय निर्धारण गरेका छन्। उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापाले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।