हेटौँडा । बागमती प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले आफ्नो छोटो कार्यकालमा निष्कलङ्क र अकलुषित भावनाका साथ काम गर्दै प्रदेशमा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पद तथा गोपनीयताको शपथ लिएपछि भिडियो सन्देश जारी गर्दै उनले आफूले ठुलो महत्त्वाकाङ्क्षा राखेर काम गर्नुभन्दा प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्दै प्रदेश र सङ्घीयताको महत्त्व स्थापित गर्ने प्रयास गर्ने बताए । ‘मलाई थाहा छ, चुनौतीपूर्ण अवधि र छोटो अवधिको बिचमा म बागमती प्रदेशको मन्त्रालय सम्हाल्न आइपुगेको छु,’ उनले भने, ‘निष्कलङ्क र अकलुषित भावका साथ, सद्भावका साथ यो प्रदेशमा र सङ्घीयता अन्तर्गतको यो महत्त्वपूर्ण क्षेत्रको गरिमा कायम राख्न सही व्यवस्थापन गर्न सकूँ भन्ने मेरो प्रयास हुनेछ ।’ उनले अहिले आफ्नो मुख्य जिम्मेवारी जारी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नु र त्यसको कार्यान्वयनमार्फत सुशासन कायम गर्नु रहेको बताए । ‘भर्खरै जारी भइसकेको बजेट २०८२/८३ को बजेटलाई व्यवस्थापन गर्नु र त्योमार्फत जति सकिन्छ सुशासन कायम गर्नु र प्रदेशको स्तर कायम गर्नु नै अहिलेको मेरो मूल कार्य जिम्मेवारी हो,’ उनले भने । छोटो समयका कारण आफूले ठुला-ठुला उपलब्धि हासिल गर्ने दाबी नगरे पनि उपलब्ध समयको सदुपयोग गर्दै प्रदेश सरकारप्रति नागरिकको विश्वास बढाउने काम गर्ने उनले बताए । ‘ठुला-ठुला महत्त्वाकाङ्क्षा राखेर त्यो महत्त्वाकाङ्क्षा सफल हुन्छ भन्ने मलाई अहिले लागेको छैन,’ उनले भने, ‘तर निष्कलङ्क र अकलुषित भावका साथ काम गर्न सकेँ भने प्रदेश पनि एउटा महत्त्वपूर्ण क्षेत्र रहेछ, सङ्घीयताको महत्त्व र मूल्य रहेछ भन्ने कुरा स्थापित गर्न सकौँला भन्ने लागेको छ ।’ मन्त्री पौडेलले आफूलाई पार्टी नेतृत्व, सहयात्री, घाइते योद्धा, प्रदेशवासी तथा मतदाताले गरेको विश्वास र सहयोगलाई आफ्नो जिम्मेवारीका रूपमा लिएको बताए । उनले आफूलाई प्रदेश सभामा निर्वाचित गराउन मतदान गर्ने जनसमुदाय, पार्टी नेतृत्व, सहकर्मी, परिवार, आफन्त तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे । ‘मलाई जहाँसम्म ल्याउन सहयोग गर्ने पार्टी नेतृत्व, मेरा सहयात्री कमरेड, घाइते योद्धाहरू र मलाई माया-प्रेम दिने सबैलाई स्मरण गरिरहेको छु,’ उनले भने, ‘मेरो क्षेत्रबाट अमूल्य मतदान गरेर प्रदेश सभामा निर्वाचित गराउने सम्पूर्ण जनसमुदायप्रति म अनुग्रहसित छु ।’ आफ्नो छोटो कार्यकालका कारण शुभेच्छुकले भविष्यप्रति चिन्ता व्यक्त गरेको भन्दै उनले त्यस्ता सुझाव र सद्भावलाई आफूले सकारात्मक रूपमा लिएको बताए । ‘कतै सरल सहयात्रीले सोचेको भविष्यप्रति ब्रेक लाग्ने त होइन, अथवा कलुषित मार्गमा खडा भएर हाम्रा सबै भावना कमजोर हुने त होइनन् भन्ने सकारात्मक सद्भावलाई मैले शिरोपर गरेको छु,’ उनले भने । मन्त्री पौडेलले आफूले नराम्रो काम नगर्ने र सकेसम्म राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकाललाई ‘अन्धकारमा सानो उज्यालो’ दिने अवसरका रूपमा उपयोग गर्ने बताए । ‘ठुलो उज्यालो त म कति सकौँला, तर अन्धकारमा सानो झिल्को बन्ने प्रयत्न, सानो उज्यालो बन्ने प्रयत्न, जुनकिरीजस्तो भए पनि अँध्यारोमा एउटा सानो आशा दिने प्रयत्न चाहिँ म गर्नेछु,’ उनले भने, ‘म कति गर्न सकौँला, नराम्रो गर्दिनँ, जति सक्छु राम्रो गर्ने प्रयत्न गर्छु ।’ उनले प्रदेश सभाका सबै सदस्य, पार्टी पङ्क्ति, प्रदेश नेतृत्व र जनसमुदायको भावनालाई प्रतिनिधित्व गर्दै काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘छोटो अवधि धेरै सिक्नुपर्नेछ, थोरै समयमा यहाँको सानो उज्यालो भए पनि दिनुपर्ने मेरो जरुरी छ,’ उनले भने, ‘मलाई गरिएको अपेक्षालाई सकेसम्म वास्तविकतामा रूपान्तरण गर्ने प्रयत्न गर्नेछु ।’