काठमाडौँ । दलित महिला संघ (फेडो) ले तीन बर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति घोर भर्त्सना गरेको छ। बाराको जीतपुसिमरा उपमहानगरपालिका-१, दशधुरेकी गरिमाको बलात्कारपछि हत्या भएको घटनाले बालकालिकामाथि हुने यौन हिंसालाई उजागर गरेको भन्दै फेडोले बलात्कार र हत्या जस्ता क्रुर कार्य बालअधिकार र मानव अधिकारको गम्भीर चिन्ता र चासोको विषयमा जनाएको छ। फेडोकी महासचिव रेणु सिजापतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'मानवताको नाममा दानविय कार्यले समाजमा बालबालिकाहरुलाई जोगाउनै कठिन हुने अवस्थाको सिर्जना भइरहेको छ। यस्तो जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दछौँ।' फेडोले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रमाणमा आधारित अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । त्यस्तै, पीडित परिवारलाई क्षतिपुर्ति, आवश्यक राहत, मनोसामाजिक सहयोग र कानुनी सहायता उपलब्ध गराउन तथा न्यायिक प्रक्रियामा परिवारको सहज पहुँच सुनिश्चित गर्न सम्बधित निकायको ध्यानाकर्षण गराएको हो।