मालारानीमा कृषि कार्यक्रमको सार्वजनिक सुनुवाइ, उत्पादन वृद्धि र किसानमुखी योजनामा जोड

  • बिहीबार ४ भौ २०८३ ०८:०५ PM
अर्घाखाँची। मालारानी गाउँपालिकामा कृषि क्षेत्रसँग सम्बन्धित वार्षिक कार्यक्रम तथा प्रगतिको सार्वजनिक सुनुवाइ गोष्ठी आयोजना गरिएको छ।  नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सन्धिखर्क, अर्घाखाँचीको आयोजनामा गोष्ठी सम्पन्न भएको हो। आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने वार्षिक कार्यक्रम तथा गत आर्थिक वर्ष २०८२/०८३ मा मालारानी गाउँपालिकामा सञ्चालन भएका कृषि क्षेत्रसँग सम्बन्धित कार्यक्रम र हासिल भएको प्रगतिको समीक्षा, सार्वजनिक सुनुवाइ तथा सरोकारवालाबीच छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख विष्णुबहादुर मगरातीले जानकारी दिए। मालारानी गाउँपालिकाको साकिन्धारामा आयोजना गरिएको कार्यक्रममा कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, किसानलाई प्रविधिमैत्री बनाउने, कृषि व्यवसायलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउने र सरकारी कृषि कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दल ब भट्टराईले कृषिको उत्पादकत्व वृद्धि गरी रोजगारीका अवसर सिर्जना गर्न अनुदानमा आधारित कार्यक्रमलाई व्यवस्थित बनाउन गाउँपालिका निरन्तर लागिरहेको बताए। कार्यक्रममा वडा नं ६ का अध्यक्ष नुम ब घर्ती, अगुवा कृषक तथा कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइका क्रममा कृषि क्षेत्रमा सञ्चालन भएका कार्यक्रमको अवस्था, किसानले प्राप्त गरेका सेवा तथा सुविधाको प्रभावकारिता, कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षका विषयमा छलफल गरिएको थियो। सहभागी कृषकहरूले स्थानीयस्तरमा कृषि उत्पादन बढाउन आवश्यक मल, बीउ, सिँचाइ, प्रविधि, बजार तथा प्राविधिक सेवाको सहज पहुँचका विषयमा आफ्ना धारणा राखेका थिए। मालारानी गाउँपालिका कृषि उत्पादनका दृष्टिले सम्भावनायुक्त क्षेत्र भए पनि पछिल्लो समय खेतीयोग्य जमिन बाँझिँदै जाने, युवा जनशक्ति वैदेशिक रोजगारी तथा अन्य क्षेत्रमा जाने, उत्पादन लागत बढ्ने र कृषि उपजले उचित बजार मूल्य नपाउनेलगायतका समस्या देखिँदै आएका छन्। यस्तो अवस्थामा कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउन सरकारी तथा स्थानीय तहका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। गोष्ठीले विगतमा सञ्चालन भएका कृषि कार्यक्रमको उपलब्धि र प्रभावकारिताको समीक्षा गर्दै आगामी आर्थिक वर्षका कार्यक्रमलाई थप किसानमुखी बनाउन आधार तयार गर्ने अपेक्षा गरिएको छ। किसानका वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार योजना तथा कार्यक्रम सञ्चालन गर्न सके कृषि उत्पादन वृद्धि हुनुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने बताइएको थियो। कार्यक्रममार्फत कृषि क्षेत्रमा सञ्चालन भएका कार्यक्रमको प्रगति, उपलब्धि तथा आगामी योजनाबारे सरोकारवालालाई जानकारी गराउनुका साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे सुझाव तथा प्रतिक्रिया संकलन गरिएको थियो। स्थानीय किसान, जनप्रतिनिधि तथा कृषि क्षेत्रका सरोकारवालाबीच प्रत्यक्ष छलफल र सार्वजनिक सुनुवाइले सरकारी कार्यक्रमको पारदर्शिता र जवाफदेहिता बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। आगामी दिनमा किसानको माग र आवश्यकता सम्बोधन गर्दै उत्पादनमा आधारित कृषि कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो। मालारानीको कृषि क्षेत्रको सम्भावनालाई उपयोग गर्दै स्थानीय उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक खेतीको विस्तार र किसानको आयआर्जन बढाउने दिशामा सरकारी तथा स्थानीय तहका कार्यक्रमलाई समन्वयात्मक रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको सहभागीहरूको भनाइ थियो। सार्वजनिक सुनुवाइमार्फत प्राप्त सुझाव तथा प्रतिक्रियालाई आगामी कार्यक्रम निर्माण तथा कार्यान्वयनमा उपयोग गर्दै कृषि क्षेत्रलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य आयोजकले राखेको छ। कार्यक्रममा गाउँपालिका कृषि अधिकृत बिमल केसी, उच्च मूल्य कृषि वस्तु उद्यमशीलता कार्यक्रम संयोजक उद्वब बुढा, वडा सदस्य लालु राना तथा स्थानीय अगुवा कृषक तुल्सी बित्रम ठकुरीलगायतले मन्तव्य राखेका थिए।