अर्घाखाँची। सितगंगा नगरपालिका–३ ले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको सहजताका लागि टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न थालेको छ। वडा कार्यालयमा पुग्न समस्या हुने अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी वडा कार्यालयले पायक पर्ने विभिन्न स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न थालेको वडा अध्यक्ष चिन्ताराज अधिकारीले बताए। भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता लाभग्राहीले आफ्नो विवरणसहित सामाजिक सुरक्षा भत्ता नवीकरण गरिसक्नुपर्ने भएकाले पहिलो चरणमा वडाका पायक पर्ने विभिन्न स्थानमा नवीकरण अभियान सञ्चालन गरिएको अध्यक्ष अधिकारीले बताए। उनका अनुसार बिसारे, दक्सुपाटा, कैलासेलगायतका स्थानमा सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ। बुधबारदेखि सुरु भएको अभियान प्रत्येक टोलमा सञ्चालन गरिने अध्यक्ष अधिकारीले बताए। टोलटोलमा नवीकरणका लागि पुगेको टोलीसम्म उपस्थित हुन नसक्ने ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि अन्य विकल्पमार्फत नवीकरणमा सहजीकरण गरिने उनले बताए। सामाजिक सुरक्षा भत्ता नवीकरणबाट कोही पनि लाभग्राही छुट्न नहुने भन्दै नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन विभिन्न कदम चालिएको अध्यक्ष अधिकारीले बताए। वडा कार्यालयले टोल तथा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणमा सहजीकरण गरेपछि स्थानीयले सेवा लिन सहज भएको भन्दै खुसी व्यक्त गरेका छन्। वडा अध्यक्ष अधिकारी निर्वाचित भएपछि जनमुखी र उत्तरदायी ढंगले काम गर्दै आएको स्थानीयको भनाइ छ। अभियानमा वडा अध्यक्ष अधिकारीसँगै वडा सचिव मिना पन्थीलगायतले सहजीकरण गर्दै आएका छन्।