काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । सार्वजनिक लेखा समितिको आजको बैठक उनले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा रहेको र खर्च पनि कम भएको वास्तविकता सुनाए। अर्थमन्त्री वाग्लेले चालु बजेटमा वैदेशिक ऋण रु दुई खर्ब ४७ अर्ब र अनुदान रु ६२ अर्ब प्रक्षेपण गरिए पनि अनुदानको वास्तविक प्राप्ति रु १० देखि १५ अर्बमा सीमित रहेको बताए। विश्व बैंक र एसियाली विकास बैंकबाट मुलुकले सहुलियतमा ऋण प्राप्त गर्दै आएको तर अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको नेपाललाई सहुलियतमा ऋण प्राप्त नहुने परिस्थिति सृजना भएको अर्थमन्त्रीले बताए। बितेका ५० वर्षमा नेपालले प्रशस्त सहुलियतपूर्ण ऋण प्राप्त गरेको तर खर्च क्षमता नहुँदा, खरिद प्रक्रिया र प्रशासनिक ढिलासुस्तीका कारण त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए। बैठकमा महालेखापरीक्षक तोयम रायले वैदेशिक सहायतामा सञ्चालन हुने परियोजनाको रकम समयमै खर्च हुने वातावरण बनाउनुपर्ने बताए। महालेखा नियन्त्रक कार्यालयका सहसचिव विष्णु ज्ञवालीले वैदेशिक सहायतामा सञ्चालन हुने रु १४ अर्ब ९२ करोड लागतका १५२ आयोजना अलपत्र भएका जानकारी दिए।