काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केशव रावललाई आफ्नो स्वकीय सचिव नियुक्त गरेका छन् । प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ घर भएका रावललाई कर्मचारी सुविधाअन्तर्गत स्वकीय सचिवमा नियुक्त गरिएको हो । प्रचण्डले रावललाई गत साउन ५ गतेदेखि लागू हुने गरी स्वकीय सचिव नियुक्त गरेका हुन् । सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा ५(१) बमोजिम रावललाई स्वकीय सचिवमा नियुक्त गरिएको नियुक्ति पत्रमा उल्लेख छ । नियुक्ति पत्रमा प्रचण्डले रावलले आफूलाई दिइएको कार्य विवरणअनुसारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । रावलले पाउने पारिश्रमिक तथा सुविधा प्रचलित ऐनअनुसार हुने जनाइएको छ । रावल अहिले नेकपाका केन्द्रीय सदस्य छन् । यसअघि उनी पार्टीको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष थिए । त्यसअघि उनले सङ्गठनको कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए । विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रावल २०७३ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार बनेका थिए । अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिमा आउनुअघि उनले तत्कालीन रुकुमको विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्षका रूपमा काम गरेका थिए । रावल २०५६ सालमा बाल सङ्गठनमा आबद्ध भएका थिए । त्यसपछि २०६४ सालमा विद्यार्थी सङ्गठनको विशेष एरिया समितिको सहसचिवको जिम्मेवारी सम्हालेका थिए । विद्यार्थी राजनीतिका क्रममा उनी विभिन्न आन्दोलनमा सक्रिय रहँदै आएका छन् । अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन पार्टीले रोक्न खोजेको भन्दै उनले पार्टी कार्यालय पेरिस डाँडामा चार दिन आमरण अनशन बसेका थिए । त्यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा शुल्क वृद्धि गरिएको विरोधमा सङ्गठनको उपाध्यक्ष रहेका बेला रावलले चार दिन आमरण अनशन बसेका थिए । संस्थानले शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिएपछि उनले अनशन तोडेका थिए । पछिल्लो समय रावलले पार्टीको राजनीतिक अभियानमा समेत सक्रियता देखाउँदै आएका छन् । पार्टीको हँसिया-हथौडा अङ्कित झन्डा र चुनाव चिह्न बोकेर ‘राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि नेपाली कम्युनिस्ट पार्टी’ भन्ने नारासहित उनले गत पुस १ देखि १५ गतेसम्म रुकुम-काठमाडौँ पैदल यात्रा गरेका थिए । विद्यार्थी आन्दोलन, सङ्गठन निर्माण र पार्टी राजनीतिमा लामो समय सक्रिय रहेका रावललाई अब प्रचण्डको सचिवालयमा स्वकीय सचिवको जिम्मेवारी दिइएको हो ।