नेताले ताली र गाली दुवै स्वीकार्नुपर्छ, म कहिल्यै रिसाएको छैन : साम्पाङ

  • बुधबार ३ भौ २०८३ ०८:१२ PM
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार जनसरोकारका आधारभूत मुद्दाहरूमा संवेदनशील नभएको आरोप लगाएका छन् । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गरे । संसद बैठक ढिलो शुरु भएको सन्दर्भमा टिप्पणी गर्दै राईले सत्तापक्षको आन्तरिक बैठकका कारण सदनलाई पर्खाइएकोमा असन्तुष्टि व्यक्त गरे । नियमअनुसार दुई घण्टाभन्दा बढी ढिलो भए बैठक स्थगित हुने प्रावधान भएपनि यस्ता प्राविधिक ढिलासुस्तीले संसदीय गरिमामा असर पुग्ने उनको तर्क थियो । आम नागरिकले ग्यास, पेट्रोलियम पदार्थ र खानेपानी जस्ता आधारभुत आवश्यकताका लागि भोग्नुपरेको सास्तीप्रति उनले चिन्ता व्यक्त गरे । मल खरिदका लागि किसानले जग्गाको लालपुर्जा देखाउनुपर्ने प्रावधान अनावश्यक र झन्झटिलो भएको बताए । वास्तविक किसानले अरूको खेत कमाएको हुनसक्ने र जग्गाधनी बाहिर भएको अवस्थामा मल नपाउनु न्यायोचित नभएको उनको तर्क छ । ‘कालाबजारी भइरहेको छ भने त्यसलाई नियन्त्रण गर्ने काम कार्यकारी निकाय सरकारकै हो । विदेशबाट आयात गर्नुपर्ने वस्तुहरूको हकमा स्टक सिस्टम प्रभावकारी बनाउनुपर्छ,’ उनले भने, ‘म सबैभन्दा धेरै गाली खप्ने व्यक्ति हुँला, तर कहिल्यै रिसाएको छैन । नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ ।’