प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

  • बुधबार ३ भौ २०८३ ०५:२७ PM
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरूले आज प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् । उनिहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए । मन्त्रालयका कार्य जिम्मेवारी, चालु आर्थिक वर्षको नीति–कार्यक्रम, बजेट, आवधिक योजनाका आधारमा मापनयोग्य सूचकहरू सहितको कार्यसम्पादन सम्झौता भएको हो । सम्झौताका आधारमा प्रधानमन्त्रीले मन्त्रीहरुको काम, कार्यसम्पादनको मूल्याङ्कन गर्न, अनुगमन गर्न, जवाफदेही बनाउन सहयोग गर्छ । यसैका आधारमा मन्त्रीहरुले सचिवहरूसँग पनि सम्झौता गर्नुहुन्छ । सम्झौतामा सरकारले घोषणा गरेका नीति, कार्यक्रम र बजेट र नीतिले लिएका लक्ष्य पूरा गर्न सहयोग पुग्छ । प्रधानमन्त्री शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । आजै प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।