३ वर्षीया बालिका गरिमा चौधरीको हत्याप्रति ओरेकको ध्यानाकर्षण

  • बुधबार ३ भौ २०८३ ०४:१२ PM
काठमाडौँ। महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा, भक्तिटोलकी ३ वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत आइतबारदेखि हराइरहेकी स्थानीय मनोज चौधरी र मनमती चौधरीकी छोरी गरिमाको शव मंगलबार साँझ घरनजिकै करिब पाँच महिनादेखि खाली रहेको वीरबहादुर रोक्काको घरमा फेला परेको थियो । घटनाले बालबालिका तथा महिलाको सुरक्षा अवस्थाप्रति गम्भीर प्रश्न खडा गरेको ओरेकले जनाएको छ । ओरेकका अनुसार ३ वर्षीय बालिकामाथि भएको यस्तो घटनाले बालिकाको सुरक्षा अवस्था कमजोर रहेको देखाउनुका साथै बाल संरक्षणका लागि राज्य तथा समाजले अवलम्बन गरेका संरचना र संयन्त्रको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ ।  बालबालिकालाई सुरक्षित वातावरणमा हुर्कन, हिंसा तथा शोषणबाट मुक्त रहन र सम्मानपूर्वक बाँच्न पाउने अधिकार संविधान तथा प्रचलित कानुनले सुनिश्चित गरे पनि यस्ता घटना दोहोरिरहनुले राज्यको दायित्व र जवाफदेहितामाथि प्रश्न उठाएको ओरेकले जनाएको छ। यस्ता घटनालाई केवल व्यक्तिको आपराधिक मनोवृत्तिका रूपमा मात्र बुझ्न नहुने प्रतिवेदनमा उल्लेख छ । बालिकामाथि हुने यौन हिंसा, बलात्कार, त्यसपछिको हत्या तथा दण्डहीनताको संस्कृतिले सामाजिक तथा संस्थागत संरचनामा रहेका कमजोरी उजागर गर्ने भन्दै प्रतिवेदनमा बालबालिकाको जोखिम पहिचान, सुरक्षा, हराएका बालबालिकाको तत्काल खोजी तथा हिंसाका घटनामा शीघ्र न्यायिक प्रतिकार्य सुनिश्चित गर्ने संयन्त्र प्रभावकारी छन् कि छैनन् भन्ने विषयमा राज्यले गम्भीर समीक्षा गर्नुपर्ने माग गरेको छ । घटनाको तत्काल, निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक अनुसन्धान गरी संलग्न दोषीको पहिचान तथा कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।  घटनास्थल तथा उपलब्ध प्रमाणको संरक्षण, वैज्ञानिक परीक्षण र प्रमाणमा आधारित अनुसन्धान सुनिश्चित गर्नुपर्ने तथा अनुसन्धान प्रक्रियालाई कुनै पनि राजनीतिक, सामाजिक वा अन्य दबाबबाट मुक्त राखी पीडित परिवारले न्याय पाउने वातावरण बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै परिवारलाई आवश्यक मनोसामाजिक परामर्श, कानुनी सहायता, सुरक्षा तथा न्यायिक प्रक्रियामा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ ।  बालिकाको पहिचान, तस्बिर तथा घटनासँग सम्बन्धित संवेदनशील विवरण अनावश्यक रूपमा सार्वजनिक नगरी बालिकाको गरिमा र परिवारको गोपनीयताको सम्मान गर्न सञ्चारमाध्यम तथा आम नागरिकसँग अपिल गरेको छ । बालिकामाथि भएको घटना कुनै एक परिवारको मात्र पीडा नभएको उल्लेख गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउनु र पीडित तथा प्रभावित परिवारलाई न्याय दिलाउनु राज्यको तत्कालीन दायित्व भएको जनाएको छ । यस्ता घटना पुनः दोहोरिन नदिन दीर्घकालीन, संरचनागत र प्रभावकारी उपाय अवलम्बन गर्नुपर्नेमा पनि ओरेकले जोड दिएको छ ।