काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताएका छन् । इन्टरनेसनल बुद्धिष्ट एकेडेमीले नेपाल, भारत, भुटान, तिब्बती समुदाय तथा युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया र पूर्वी तथा दक्षिण–पूर्वी एसियाका विभिन्न देशबाट सहभागी शाक्य, काग्यू, ङिङ्मा लगायत विभिन्न तिब्बती बौद्ध परम्पराका भिक्षु–भिक्षुणी तथा धर्म अध्ययन गर्ने गृहस्थ विद्यार्थीहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन् । अध्यक्ष मगरले मानव अधिकारका विषयमा नागरिक समाजसँग सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्ने काम पनि आयोगको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गरे । उनले भने,‘कुनै पनि व्यक्ति वा समुदायले आफ्नो मानव अधिकार उल्लङ्घन भयो भनेर उजुरी गरेको खण्डमा हामी त्यसलाई हेर्छौं, अनुसन्धान गर्छौं । त्यसपछि सरकारलाई उल्लङ्घनकर्तामाथि के–कस्तो कारबाही गर्नुपर्छ भनेर सिफारिस गर्छौं । यो हाम्रो मुख्य कर्तव्य हो ।’ त्यस्तै, नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको कार्यान्वयन अवस्थाको अनुगमन गर्ने र कार्यान्वयन नभएको अवस्थामा सरकारलाई आवश्यक सिफारिस गर्ने काम पनि आयोगले गर्दै आएको उनले बताए । आयोगले देशमा रहेका कानुनहरूको अध्ययन तथा अनुसन्धान गरी कमी–कमजोरी देखिएमा सुधारका लागि सरकारलाई सुझाव दिने गरेको पनि अध्यक्ष मगरले जानकारी दिए । आयोगले मानव बेचबिखन, आप्रवासी कामदार, जातीय विभेदलगायतका विषयमा विभिन्न प्रतिवेदन तयार पारेर सरकारसमक्ष बुझाउँदै आएको उनले बताए । राउते समुदायको अधिकार संरक्षण तथा कुसुन्डा समुदायको भाषा संरक्षणका विषयमा समेत आयोगले अध्ययन गरी प्रतिवेदन तयार गरेको उनको भनाइ छ । उनले भने,‘हामीले आप्रवासी कामदार, मानव बेचबिखन र जातीय विभेदका विषयमा प्रतिवेदनहरू तयार गरेका छौं । जंगलमा बस्ने तथा घुमफिर गर्ने राउतेहरूको अधिकार संरक्षण हुन नसकेको विषयमा पनि प्रतिवेदन बनाएका छौं । त्यस्तै भाषा लोप हुन लागेको कुसुन्डा जातिको विषयमा पनि प्रतिवेदन तयार गरेर सरकारसमक्ष बुझाएका छौं ।’ विदेशमा रहेका नेपाली श्रमिकको अधिकार संरक्षणका लागि आयोगले विभिन्न देशका मानव अधिकार संस्थासँग सहकार्य गरिरहेको अध्यक्ष मगरले बताए । मलेसिया, कतार तथा रसियासँग समेत सहकार्य र समझदारी भएको उनले जानकारी दिए । रसियामा काम गर्न पुगेका नेपाली नागरिक बेपत्ता भएको समाचार आएपछि त्यहाँको मानव अधिकार संस्थासँग सहकार्य गरी उनीहरूको अवस्थाबारे जानकारी लिन पहल गरिएको उनले बताए । अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा चीनसँग पनि सहकार्यको सम्भावना बढ्दै गएको बताए । चीनमा मानव अधिकारको अवस्था अध्ययन गर्न निमन्त्रणा प्राप्त भएको उल्लेख गर्दै अवसर मिलेमा आयोगको टोली चीन पुगेर अध्ययन गर्ने उनको भनाइ छ । मानव अधिकारका क्षेत्रमा नेपाल र चीनबीचको सहकार्य लामो समयदेखि अघि बढाउने चाहना भए पनि उपयुक्त अवसर नजुटेको अध्यक्ष मगरले बताए । अहिले प्रोफेसर झाङको पहलमा सहकार्यको अवसर मिलेको भन्दै उनले खुसी व्यक्त गरे । अध्यक्ष मगरले नेपाल र चीनबीच सुरु भएको सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।